सिरहाको विष्णुपुर गाउँपालिका–३ कौवाहा टोलका ३२ वर्षीय रोशनकुमार यादवलाई सिरहा प्रहरीले झुटो मुद्दामा फँसाएको रहस्य खुलेको छ । नाम मिलेकै आधारमा प्रहरीले आरोपीमाथि मुद्दा नचलाएर निर्दोष रोशनमाथि फौजदारी डाँका मुद्दा चलाएको हो ।
६ सदस्यीय परिवारको जिम्मेबारी भएका रोशन घरको आर्थिक अवस्था कमजोरको कारण चौथो पटक गत माघमा वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । विदेश उड्नकै लागि पुलिस रिपोर्ट लिन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेपछि उनले आफूमाथि डाँका मुद्दा चलाएको थाहा पाएर डराए ।
‘पुलिस रिपोर्ट लिन जाँदा डाँका मुद्दाको फाइलमा म आफ्नो नाम देखे । म केही गलत गरेको छैन, तर मेरो नाममा डाँका मुद्दा रहेछ । म त निकै डराएँ,’ रोशन त्यस दिनको घटनाक्रम सम्झन्छन् ।
२० कार्तिक २०८१ मा उनीविरुद्ध जिल्ला अदालत सिरहामा सुनिता देवी कामतीको जाहेरीले सरकार वादी रहेको डाँका मुद्दा अमरेश कुमार यादव र रोशनकुमार यादवमाथि दर्ता छ ।

फौजदारी मुद्दा रहेका विदेश जान नपाएका रोशन १० फागुन २०८१ मा अदालतमा हाजिर भएर साधारण तारेखमा रिहा भए । प्रहरीले फँसाएको डाका मुद्दामा निर्दोष रोशन चार महिनादेखि अनाहकमा अदालतको तारेख धाइरहेका छन् । अगामी जेठ २६ गते अदालतमा साक्षी बकपत्र छ । तर मुद्दा कहिले टुंगिने हो, थाहा छैन । रोशन ठूलो आर्थिक संकट र तनाको सामना गरिरहेका छन् ।
गत असोज २५ गते राति सिरहाको सिरहा नगरपालिका ११ भलुवाही बस्ने भोला कामतीका श्रीमती ४५ वर्षीया सुनिता देवी क्रामतीसँग लुटपाट भएको थियो ।
राति घर नजिकै भलुवाही चौकमा झिझिया हेरेर फर्किरहेको बेला मोटरसाइकलमा आएका र्दुइजनाले कुटपिट गरी लुटपाट गरेको भन्दै सुनिता सिरहा प्रहरीमा कार्तिकमा जाहेरी दिएकी थिइन् । जाहेरीमा सिरहाको बिष्णुपुर गाउँपालिका –३ रजौखोर टोल बस्ने संगम लाल यादवको छोरा अमरेशकुमार यादव र स्थानीय बिताई यादवको छोरा वर्ष २५ का रोशन कुमार यादव घटनामा संलग्न रहेको अभियोग छ । जाहेरीमा राति झिझिया हेरेर घर फर्किने क्रममा ११ बजेको समयमा भलुवाही चौक भन्दा पुर्व नरहिया गाँउ जाने बाटो स्थित सडक खण्डमा स.४ प ६४१५ नम्वरको मोटरसाईकल चालक अमरेश यादव र सोही मोटरसाईकल पछाडी सवार रोशन कुमार यादव समेतले मंगल सुत्र, तिलहरी, नाकको फुली, पाउजु समेत गरगहना खोस्न खोजेको उल्लेख छ ।

त्यस क्रममा प्रतिकार गर्दा उनीहरुले कुटपिट घाइते बनाएर आफूले लगाएको ४ अनाको मंगलसुत्र, २ आनाको नाकको फुली र ६ तोलाको चाँदीको पाउजुसहितको गहना लुटेको सुनिता देवीको जाहेरीमा उल्लेख छ । दुबैजनालाई कानुन बमोजिम पक्राउ गरी कारवाही गरी गरगहना फिर्ता दिलाई दिन सुनिताले माग गरेकी छन् ।
जाहेरीमा स्पष्ट रुपमा विष्णुपुर गाउँपालिका वडा नम्बर ३ का बिताई यादवको छोरा वर्ष २५ का रोशन कुमार यादव उल्लेख छ । तर अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसन्धान फाँटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) दिपक सिंहले भने जयनारायण यादवका ३२ वर्षीय छोरा निर्दोश रोशनकुमार यादवमाथि डाँका मुद्दा चलाइदिएका हुन् । जवकी नत रोशनको बुबाको नाम मिल्छ, नत रोशनको उमेर ।
त्यही टोलमा बिताई यादव र उनका २५ वर्षीय छोरा रोशन यादव पनि छन् । नाम मात्र मिलेको आधारमा निर्दोष रोशनलाई प्रहरीले घटनामा संलग्न प्रतिवादी बनाएको छ ।
प्रहरीका अनुसार डाँका मुद्दामा संलग्न दावी गरिएको बिताइ यादवका छोरा रोशन त्यसपछि पनि सिरहाबाट गाँजासहित पक्राउ परेका थिए ।
यता निर्दोष रहेका रोशन त्यसको सजाय भोगिरहेका छन् । ‘म कमाउने खाने मान्छे हुँ । अपराधिक घटनामा कहिल्यै संलग्न छैन । नत वादीले दिएको जाहेरीमा मेरो बुबाको नाम मिल्छ, नत मेरो उमेर । प्रहरीले कुनै राजनैतिक र रकमको चलखेल गरी दोषीलाई उम्काउन म निर्दोश कमजोरलाई प्रहरीले फँसाइदिएको जस्तो मलाई लाग्छ’ रोशन गुनासो गर्छन् ।
वडाध्यक्षसहित भरभलादमी लिएर पुगेपछि इन्सपेक्टर दिपक सिंहले गल्तीले तपाइको नाममा मुद्दा दर्ता भयो । तपाई नडराउनुस् । केही हुँदैन । अदालतमा हजिर भएर मात्र तारेखमा आउनुपर्छ । वकिल पनि मैले नै गरिदिन्छु भन्नु भयो’ प्रहरी निरीक्षक सिंहले आश्वासन दिएको कुरा रोशन सुनाउँछन् ।
घटनामा संलग्नको आरोपमा केही समयपछि पक्राउ परेका आमरेश र जाहेरी कर्ता सुनिताले समेत मुद्दा दर्ता रहेको रोशन निर्दोश रहेको प्रहरीमा बयान दिएका छन् । मुद्दा दर्ता गर्ने प्रहरी निरीक्षक सिंह जिल्ला प्रहरी कार्यालय सिरहामै कार्यरत्त छन् ।
रोशनका अनुसार घटना बाहिर गए आफू कारबाहीमा पर्ने डरले प्रहरी निरीक्षक सिंहले गुहार गर्ने गरेका छन् ।
प्रहरी निरीक्षक सिंह जिल्ला प्रहरीका प्रवक्तासँग सोध्नुस् भन्दै यस घटनाबारे केही बोल्न मानेनन् । निर्दोश मान्छे माथि कसरी डाँका मुद्दा चलाउनु भयो भन्ने जिज्ञासामा प्रहरी निरीक्षक सिंहले भने ‘यो अलि पुराने घटना हो । मलाई मिसिल हेर्नु पर्छ । यो सबै अनुसन्धानकै विषय हो । यो चलिरहै कै छ । यसमा त्यस्तो कुनै समस्या छैन । यो विषयमा म केही भन्नु पाउन्न । जिल्लाकै प्रवक्तासँग बुझ्नु होला’

यस बारे जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विरेन्द्रकुमार पासवान प्रहरीसँग जोडिएको इसु भएकाले कार्यालय प्रमुखसँग बुझ्न आग्रह गर्दै केही बोल्न मानेनन् । यता प्रहरी उपरीक्षक (एसपी) अनन्त राम शर्माले आफू पछि आएकाले यो घटना बारे अहिले आफूलाई जानकारी नभएको बताए ।
‘म पछि आएको हुँ । यो घटन बारे मैले बुझेर मात्र केही भन्छु’ एसपी शर्माले भने । यस घटनामा दोषीबाट आर्थिक चलखेल गरी निर्दोश व्यक्तिलाई नामम मिलेकै आधारमा फँसाइएको हुन सक्ने आशंका छ ।
रोशनको घरको आर्थिक अवस्था कमजोर छ । एक विघा खेत भएपनि त्यसबाटा गुजारा गर्न परिवारलाई समस्या छ । आमाबुबा वृद्ध छन् । भाई मानसिक रोगी हुँदा नियमित औषधि उपचार गराउनु पर्छ । एक छोरालाई बोर्डिंग स्कुलमा पढाइरहेका छन् । घर खर्च चलाउन मुस्किल भएकै कारण उनी आठवर्ष विदेश विताए । पेटको समस्या हुँदा कतारबाट गतवर्ष घर फर्केका रोशन उपचार पश्चात निको भएपछि फेरि साउदी अरेबिया जाने तयारीमा थिए । फौजदारी मुद्दाले विदेश जान नपाउँदा ऋण काढेर घरपरिवार चलाउनु परेको उनको गुनासो छ । यस्तै अवस्था रहे आफ्नो परिवार सडकमा आइपुग्ने उनको चिन्ता छ ।
रोशनका हजुरबुबा जग्दीश यादव नातिलाई फँसाएको गुनासो गरे । ‘हामी कमाउने खाने समान्य मान्छे । अड्डाखाना कहिले गएको छैन । पेटको समस्या भएर विदेशबाट आएर बसिरहेका थिएँ । मेरो नातीलाई फँसाइदियो । विदेश जान नपाएर घरयसी समस्या,,मा छन्’
आफूमाथि मुद्दा दर्ता भएको रोशनले थाहा पाएपछि उनले केही स्थानीय भरभलादमी लिएर चारदिनपछि जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यस बेला मुद्दा शाख प्रमुख प्रहरी निरीक्षक सिंहले गल्तीले मुद्दा दर्ता भएको स्वीकारेको रोशनको भनाइ छ ।