रञ्जन भण्डारी
मिथिला साधु सन्तको तपोभुमि हो । मिथिला क्षेत्र नेपाल र भारतको बिहार राज्य समेतमा फैलिएको छ । कुनै बेला एउटै रहेको मिथिला देशहरुको सिमा विभाजनले दुई देशमा बाडियो । तर, साधुसन्त र धर्म अझै देशको सिमा विभाजनले प्रभावित भएको छैन । यहा विवाह पन्चमी र मिथिला माध्यमिकी परिक्रमामा नेपालको मिथिला क्षेत्रमा बसोवास गर्नेहरु आस्था र उल्लास साथ जति सम्मिलित हुन्छन त्यति नै भारतको मिथिलाक्षेत्रका श्रद्धालु पनि सहभागि हुन्छन । यि मुख्य दुई उत्वसले समेत नेपाल र भारतको सम्बन्ध अटुट र सुमधुर राखिरहन महत्वपुर्ण भुमिका खेलेको छ । यहि उत्सवले सनातन धर्म अटुट राख्दै आएको छ ।
श्रीराम र माता सिताको विवाहले जोडेको नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउदै विश्वको सवैभन्दा लामो हिन्दुहरुको धार्मिक यात्रा ‘ मिथिला माध्यमिकी परिक्रमा’ फागुन कृष्णपक्षको औसीको दिन मिथिलाबिहारी नगरपालिका कचुरी स्थित कचुरी मठबाट डोला प्रस्थानपछि प्रारम्भ हुन्छ । साधुसन्त र गृहस्त सम्मिलित सो यात्राले सनातन धर्मको व्यापकता र विशालता झल्काउदै तपोभुमि तिरहुतको रुपमा परिचित मिथिलाको धार्मिक क्षेत्रहरुको यात्रा गर्छ ।
मिथिला बिहारी(राम) र किशोरीजी(सिता) को डोलासंगै परिक्रमायात्रीहरु धनुषाको पाँच,महोत्तरीको पाँच र भारतको बिहार राज्यको चार धार्मिक क्षेत्र(रामसिता विवाह प्रसंग जोडिएको मिथिला क्षेत्रको स्थल) को परिक्रमा गर्ने गरेको छ । सोहि समय राम र सिताको मिलन र सो पछि कायम भएको प्रेम सम्बन्ध सम्बन्धी भजन तथा गितहरुले ति धार्मिक क्षेत्रहरु भक्तिमय हुने गर्छ ।
रामसिता मिथिलामा हुदा विहार(भ्रमण) गरेका देवस्थलहरु, राजा जनकको राज्यका चारैकोणमा अवस्थित शिवालय,उनको कुलदेवी,माता सिताको फुलवारी(जहा राम र सिताको पहिलो भेट भयो),रामसिताले नित्य होली खेल्ने स्थल कंचनवन,उनको विवाहमा मटकोरको लागि माटो उत्खनन भएको मटिहानी लगायतका मिथिलाधाम भित्रका विभिन्न धार्मिक,पौराणिक र ऐतिहासिक स्थलहरुको परिक्रमा गरिन्छ ।
१५ दिने सो यात्राको लागि मिथिला बिहारी नगरपालिका कचुरी स्थित मिथिला बिहारीको मन्दिरबाट डोलामा भगवान राम विराजमान भई निस्केर सो डोला जनकपुर स्थित जनकपुरकै हनुमान नगरमा विश्राम गर्नेछ । मिथिला बिहारीको डोलाको यात्रा फागुन कृष्णपक्षको औसीको दिन भएपनि परिक्रमाको सुरुवात भने कल्याणेश्वबाटमात्र हुने साधुसन्तहरुको भनाई छ । माता सिताको डोला किशोरीजीको स्वरुपमा अग्नी कुण्डबाट फागुन कृष्णपक्षको औसीको दिन विहिवार जनकपुर कै रामानन्द चौक स्थित हनुमत दरबारमा विश्राम गरि शुक्रवार भारतको कल्यानेश्वर(कलना) मा भेट्ने छ ।
कल्यानेश्वर(कलना)मा संकल्प गरेपछिमात्र यात्राको औपचारिक सुरुवात हुने गरेको किशोरीजीको डोला प्रमुख महन्थ नवल किशोर शरण बताउछन । उनी मिथिलाको विभिन्न ठाउबाट श्रद्धालु परिक्रमा यात्रीहरु कलना पुगेर संकल्प सहित यात्रा सुरु गर्ने र अन्तिम दिन कलना नै पुगेर संकल्प पुरा गरेपछि परिक्रमा समाप्त हुने गरेको उनी बताउछन ।
पहिलो दिन भारतको कल्याणेश्वर(कलना) र दोस्रो दिन भारतकै गिरिजास्थान हुदै परिक्रमा पुनः नेपाल प्रवेश गर्ने र नेपालको महोत्तरी स्थित पवित्र भुमि मटिहानीमा रात्रीकालिन विश्राम गर्नेछ । सो पछि जलेश्वरनाथ महादेवको दर्शन गर्दै परिक्रमा महोत्तरी गाउपालिका स्थित तपोभुमि मडईमा एकरात बास बस्ने छ ।
मडई पछि बलवा नगरपालिका स्थित ध्रुवकुण्ड,भंगहा नगरपालिका स्थित कंचनवन पुग्नेछ । यता कंचनवनमा होली खेली त्यसको भोलीपल्ट धनुषाको क्षिरेश्वरनाथको दर्शन गर्दै पर्वता,धनुषाधाम,सत्तोषर,औरही र भारतको करुणा पुग्नेछ । करुणाबाट भारतकै विशौल पुग्नु अगावै परिक्रमा पुनः संकल्प गरेको स्थान कल्याणेश्वर पुगेर आफ्नो संकल्प पुरा गर्छन र त्यहाबाट रात्रीबास विशौलमा वसी भोली पल्ट जनकपुर आएर विश्राम गर्छन । जनकपुर आएर अन्तगृह परिक्रमा गरिन्छ र त्यसकै भोली पटक मिथिला क्षेत्रमा होली उत्सव मनाईन्छ ।
भगवान,ऋष्ीमुनी,महर्षी,साधुसन्तको तपोभूमि स्थलहरुको परिक्रमा गर्दा पुण्य र मोक्ष प्राप्ती हुने अटल विश्वासका साथ १५ दिने माध्यमिकी परिक्रमा संचालन हुदै आएकोमा यसमा सहभागि हुने साधुसन्त तथा गृहस्तको लागि नेपाल र भारत सरकारका अंगहरुबाट समेत उच्च सम्मान तथा श्रद्धा राख्ने गरिन्छ ।
१५० देखि १७५ वर्षको नियमित परिक्रमाको ईतिहास विद्वान साधुसन्तहरुले बताईरहदा पछिल्लो वर्षहरुमा गृहस्तहरु समेत सम्मिलित हुने गरेका हुन । तथापी राजा जनक त्रेतायुगमा मिथिलाका राजा थिए र सोहि समय देखि परिक्रमा हुदै आएको हो वा उपलब्ध दस्तावेज नै परिक्रमाको यकिन समय हो भन्नेमा अनभिज्ञता छ । तर हाललाई यसै समयलाई परिक्रमा सुरु भएको समय मानिएको छ । यसको संचालनकै विषयमा समेत फरक फरक भनाई छ । केहि साधुहरु मिथिला बिहारी मन्दिरका प्रथम महन्थ लाढ्ली शरणजी महाराज नै परिक्रमाको प्रथम संचालक रहेको बताउछन भने केहिले जनकपुर स्थित मधुकर कुञ्ज कुट्टीका सन्त सियालाल शरणजी महाराज(प्रेमलताजी महाराज) परिक्रमाको प्रथम संचालक रहेको बताउछन । किशोरीजी डोला प्रमुख नवल किशोर शरण समेत सियालाल शरणलाई नै परिक्रमा संचालक रहेको बताउछन । यसै सन्दर्भमा बृहत्त जनकपुरक्षेत्र विकास परिषदका अध्यक्ष शितल साह भने परिक्रमाको दस्तावेजहरु खोजविन भैरहेको बताउछन । उनी समयले परिक्रमाको सुरुवातकर्ता वारे बताउने भन्दै अहिले परिक्रमाको अन्तराष्ट्रियकरण वारे बहस हुनु पर्ने बताउछन । उनी सम्भवतः विश्वकै सवैभन्दा लामो र ठुलो धार्मिक यात्रालाई अझै अपेक्षाकृत प्रचार प्रसार हुन नसकेकोमा यसको व्यापकताको लागि सवैतहबाट पहल चल्नु आवश्यक रहेको बताउछन ।
अग्नी कुण्ड स्थित किशोरीजीको डोला प्रमुख महन्थ नवल किशोर शरणका अनुसार १२९ किलोमिटरको परिक्रमा यात्रा विश्वकै लामो धार्मिक यात्रा रहको बताउछन । उनी परिक्रमा आफ्नो निश्चित मार्गमै जाने गरेपनि सवारी साधनकै बाटो भने केहि स्थानमा फरक हुन सक्ने भएकोले दुरी बारे केहि अपवाद हुन सक्ने थप्छन ।
परापुर्वकाल देखि पुर्वज र साधु सन्तहरुले प्रयोग गर्दै आएको सिमा,दिशा र मार्ग मै उक्त लस्कर नहिडे परिक्रमाको पुर्ण फल नपाईने जनविश्वास रहेको छ ।
यस्तो छ परिक्रमा पडाव स्थलको विशेषता ः मिथिला परिक्रमा संक्षिप्त परिचय पुस्तिकाबाट साभार
प्रथम पडाव कल्याणेश्वर ः
भारतको मधुवनी स्थित कल्याणेश्वरमा महादेव स्थान छ । यसलाई कलना समेत भनिन्छ । राजा जनकको राज्यमा चारकुनामा विराजमान रहेको चार महादेव मध्ये कल्याणेश्वर महादेव एक हुन । यो जनकपुरको दक्षिण पुर्व कुनामा अवस्थित छ । हिन्दु धर्मशास्त्रका अनुसार महादेव श्मसानमा वस्छन र भष्म लगाउछन । कल्याणेश्वर पुग्ने परिक्रमा यात्रीहरु समेत श्मसानमै रात्री विश्राम गर्छन । यहि रात्री विश्राम गरेको भोली पल्ट कल्याणेश्वर महादेवको दर्शन गरि संकल्प लिदै परिक्रमा यात्रीहरु अगाडी वढ्छन ।
दोस्रो पडाव गिरिजा स्थान(फुलहर) ः
फाल्गुण द्वितीया को दिन परिक्रमा यात्रीहरु कल्याणेश्वरबाट करिव १० किलोमिटरको दुरीमा रहेको भारतकै मधुवनी जिल्ला स्थित गिरिजास्थान पुग्छन । यसलाई फुलहर समेत भनिन्छ । यहा गिरिजामाताको प्रतिमा स्थापित छ । उनलाई त्रेतायुगी सिद्धिदायकको रुपमा पुजा गरिन्छ । यहा नै रामको मिलन माता सितासंग भएको मानिन्छ । राम चरित मानसमा गोस्वामी तुलसी दासले लेखेका छन,
नव पल्लव फल सुमन सुहाए ।
जिन संपति सुर रुख लजाए ।।
चातक कोकिल कीर चकोरा ।
कुजत विहग नटत कल मोरा ।।
राजा जनकको बगैचाको रुपमा प्रसिद्ध यहिको फुलवारीको बिचमा एउटा सुन्दर पोखरी रहेकोमा पौराणिक कालमा यहि पोखरीको सौन्दर्यता वारे तुलसी दासले लेखेका छन ,
मध्य वाग सरु सोह सुहावा ।
मनि सोपान विचित्र बनावा ।।
विमल सलिलु सरार्सज बहुरंगा ।
जलखग कुजत गेजत भृंगा ।।
तेस्रो पडाव मटिहानी स्थान ः
फाल्गुण त्रितिया को दिन फुलहरबाट परिक्रमा महोत्तरीको मटिहानीमा प्रवेश गर्छन । करिव १० किलोमिटरकै दुरीमा अवस्थित मटिहानीमा लक्ष्मी नारायणको भव्य मन्दिर छ । परिक्रमावासीहरु यहि मन्दिरमा पुजा आराधना समेत गर्छन । पौराणिक कालमा माता सिताको मटकोर यहि भएको मान्यता छ । यहा प्रकाण्ड विद्यानहरु पौराणिककालमा रह्ने गरेको विभिन्न स्थानमा उल्लेख गरिएको छ । अहिलेपनि नेपालकै प्रथम संस्कृत विद्यालय यहि छ । नेपाल सरकारले मान्यता दिएको नेपालको पहिलो विद्यालयको संस्थापक बालगुरु षडानन्दले समेत यहि शिक्षा हासिल गरेका छन ।
चौथो पडाव जलेश्वरनाथ स्थान ः
जलेश्वरकै ईतिहास करिव पाचसय वर्षभन्दा धेरै नभएपनि जलेश्वरनाथ वारे भने त्रेतायुगमै समेत वर्णन गरिएको खोजकर्ताहरु बताउछन । विभिन्न समयमा जलेश्वरनाथ महादेवको दिव्य लिंग उजागर हुने र पुनः विलिन हुने गरेको उनीहरुको दावी छ । वर्तमान समयमा बाबा जगदिशनाथले उत्खनन गरेको जलेश्वरनाथ महादेव मन्दिर मोक्ष तथा मनोरथ पुरा गर्ने सिद्ध धार्मिक स्थल हो । परिक्रमा यात्रीहरु फाल्गुण चौठीको दिन जलेश्वरनाथको शरणमा आउछन । जलभित्र बिराजमान जलेश्वरनाथ महादेवको आर्शिवाद प्राप्त गर्दै परिक्रमा यात्रीहरु रात्री विश्राम पश्चात आगामी गणतव्यको लागि प्रस्थान गर्छन । जलेश्वरनाथ राजा जनकको दरवार रक्षार्थ चारकुनामा विराजमान शिवालय मध्ये दक्षिण कुमामा अवस्थित छ ।
जलेश्वरमा परिक्रमालाई स्वागत गर्ने मुख्य धार्मिक संस्थाको रुपमा रहेको स्व. परशुराम साह मिथिला परिक्रमा जलेश्वरका पदाधिकारी तथा स्वयम सेवकहरुले जलेश्वर स्थित भार्गवसर कुटीबाट नै मिथिला विहारीको डोलालाई स्वागत गर्दै परिक्रमा पडाव स्थलसम्म लग्ने गर्छन । यता सोहि संस्थाले परिक्रमामा आएका साधु सन्तहरुलाई विभिन्न खाद्यय सामग्री,दाउरा,पराल लगायतको सामग्री समेत संस्थाकै तर्फबाट उपलब्ध गराउछन ।
पाचौ पडाव मडई ः
फाल्गुण पञ्चमीको दिन जलेश्वरबाट विदा भई परिक्रमा करिव सात किलोमिटरको दुरीमा रहेको मडई पुग्छन । यहा माण्डव्य ऋषी आश्रम पनि छ । ऋषी माण्डव्य आश्रम बनाएर यहि बस्ने भएकोले पछि यहि ठाउको नाउ मडई हुन गएको हो ।
छैठौ पडाव ध्रवकुण्ड ः
फाल्गुण षष्ठी को दिन परिक्रमायात्री ध्रुवकुण्ड पुग्छन । यो मडईबाट करिव सात किलोमिटरको दुरीमा अवस्थित छ । ध्रुवकुण्ड तपोभुमी रहेको मान्यता छ । यहा ठुला ठुला ऋषीहरुले तपस्या गरेको भनाई छ । अझै यहा केहि बनजंगलको अवशेषहरु पाईन्छ । यो प्रसिद्ध सन्त ध्रुवको स्थान भएकोले यसलाई ध्रुवकुण्ड भनिएको हो । यहा रामजानकीको मन्दिर समेत स्थापित छ ।
सातौ पडाव कञ्चनवन ः
परिक्रमाको सातौ पडाव स्थल कञ्चनवन हो । यो महोत्तरीकै भंगहा नगरपालिकामा अवस्थित छ । ध्रुवकुण्डबाट करिव १२ किलोमिटरको दुरीमा अवस्थित कञ्चनवनमा पुगेर परिक्रमा यात्रीहरु होली खेल्न सुरु गर्छन । यहा होली कार्यक्रमकै समेत भव्य आयोजना हुन्छ । किशोरीजी डोलाको प्रमुख समन्वयमा यहा भंगहा नगरपालिकाले होली खेल्ने कार्यक्रमको आयोजना गर्दै आएको छ । यहा सितारामले नित्य होली खेल्ने गरेको मान्यता छ ।
आठौ पडाव पर्वता ः
फाल्गुण अष्टमीको दिन कञ्चनवनबाट परिक्रमावासी पर्वता पुग्छन । यो करिव १२ किलोमिटरको दुरीमा अवस्थित छ । क्षीरेश्वरनाथ महादेवको दर्शन गर्न केहि वेर क्षिरेश्वरनाथ महादेव मन्दिरमा विश्राम गरेर परिक्रमा पर्वता पुग्ने गरेको हो । पहिले यो स्थानमा धेरै पहाडहरु हुने गरेको मान्यता रहेको छ । अहिले यहा जलाधी नदी र एक पोखरी छ । परिक्रमावासीको लागि यो सुन्दर र रमणीय स्थल छ ।
नवौ पडाव धनुषाधाम ः
यहा स्वयम्वरको समय रामले भाचेको धनुषको टुक्रा खसेको मान्यता छ । अझै धनुषको टुक्रा यहा अवस्थित छ र त्यो हरेक वर्ष वढ्दै छ । यहा माघमा मकर मेला लाग्छ । शारिरिक रोगव्याधीबाट छुटकारा पाउन यहा हजारौ भक्तजन आउने गर्छन । धनुषाधाम स्थित धनुषको वारेमा मिथिला महात्मयमा उल्लेख छ ,
“श्री रामस्य कर स्पृस्ष्टं धनु ः स्वण्डस्य दर्शनम ् ।
सर्वाघौघ हरं पुसां सर्व कल्मष मार्जनम ् ।।
यथा रामेश्वर लिंङ्ग धनुषो दर्शनन्तथा ।
अति पातक जातानांशोद्यनं द्वितयम्मतम् ।।
कलौ येन महाभाग कृता यात्रा महामुने ।
अमरास्तन्नमस्यन्ति जीवन्मुक्त तमोहिस ः ।।
अर्थात रामजीले आफ्नो हस्त कमलले जुन धनुषलाई खण्डित गरे , त्यो धनुषको दर्शनमात्र ले मनुष्यको सम्पुर्ण पाप नष्ट हुन्छ । जसरी रामेश्वर लिंङ्गको दर्शनले सम्पुर्ण पापको नास हुन्छ त्यसरी नै मिथिलामा धनुषको दर्शनले हुन्छ ।
कलयुगमा जो व्यक्ति धनुषको दर्शनको लागि घरबाट निस्कन्छन उसलाई देउताले समेत नमस्कार गर्छन । दर्शन गर्ने व्यक्ति जन्ममृत्युको कष्टबाट मुक्त हुन्छन । यहाका बनजंगलमा अझै पनि साधुसन्तहरु तपस्या गर्ने गरेको मान्यता छ ।
दशौ पडाव सत्तोषर ः
फाल्गुण दशमीको दिन धनुषाधामबाट परिक्रमावासी सप्तऋषी आश्रम पुग्छन । यो धनुषाधामबाट करिव ८ किलोमिटर दक्षिणमा अवस्थित छ । यहा सप्तेश्वर महादेवको भव्य मन्दिर समेत छ । सप्तऋषी आश्रमको नामले परिचित यस धाममा पौराणिककालमा सप्तऋषीहरु कश्यप,अत्रि,भारद्वाज,विश्वामिश्र,गौतम,यमदग्नि र वशिष्टले तपस्या गर्थे । यो स्थानको दर्शनमात्रले पापको नाश हुन्छ ।
एघारौ पडाव औरही हरुसाहा ः
फाल्गुण एकादशीको दिन सत्तोषर बाट १२ किलोमिटर दक्षित तर्फ रहेको औरही हरुसाहामा परिक्रमावासी पुग्छन । यो धनुषाको औरही गाउपालिकामा पर्छ । यहा एकादशीको तिथिमा परिक्रमावासी पुग्ने भएकोले एकादशी व्रत वस्छन । यहा अवस्थित विमला नदीको स्नान महत्वपुर्ण मानिन्छ ।
बार्हौ पडाव करुणा ः
परिक्रमा औरहीबाट पुनः भारतमा प्रवेश गर्दै भारतको मधुवनी स्थित करुणा स्थान पुग्छन । यो धनुषाको औरहीबाट करिव ५ किलोमिटर दक्षिणमा अवस्थित छ । यहा हरिहर बाबाको आश्रम नजिकै रामसर कुण्ड छ । पौराणिक कालमा जनकपुर आउनु पुर्व राम र लक्ष्मण यहि स्नान गरेको मान्यता छ । कुनै वेला यहा कौन्डिल्य ऋषीको आश्रम थियो सोहि भएर यसको नाम करुणा पर्न गएको हो । यहाको कुण्डमा स्नान गरेर परिक्रमावासी धन्य हुन्छन ।
तेर्हौ पडाव विशौल ः
फाल्गुण त्रयोदशीको दिन परिक्रमावासी कल्याणेश्वर पुगि संकल्प पुरा गर्दै र परिक्रमालाई विराम दिदै विशौल पुग्छन । यहा सुन्दर सदन नामको विश्वामित्र आश्रम छ । आश्रममा सितारामको मन्दिर समेत छ । पौराणिककालमा राम लक्ष्मणसंगै विश्वामित्र समेत जव जनकपुर आउदै थिए त्यती वेला उनीहरु यहि विश्राम गरेको मान्यता छ ।
चौदहौ पडाव जनकपुरधाम ः
फाल्गुण चतुर्दशीको दिन विशौलबाट परिक्रमा जनकपुर फर्किन्छ । राजा जनकको राज्यको मध्य भागको परिक्रमा गरेर फर्केको परिक्रमायात्री जनकपुर पुगेर सम्पुर्ण फलको प्राप्ती भएको महसुस गर्छन । यही माता सिताको मन्दिर जानकी मन्दिरमा दर्शन गरेर रात्री विश्राम जनकपुरमै गर्छन र त्यसको भोली पल्ट अन्तगृह परिक्रमा गरेर आ आफ्नो घरको लागि प्रस्थान गर्छन । यसलाई पन्चकोषिय परिक्रमा समेत भनिन्छ । घर पुगेर अघिल्लो दिन मिथिलामा होली खेलिन्छ ।
परिक्रमा प्रकार ः
नदी कौशकी गण्डकी,गंगा गिरी हिमवान ।
शुद्ध देश मिथिलापुरी,चारो वेद प्रमाण ।।
मिथिला क्षेत्र पुर्वमा कोशी नदी,पश्चिममा गंगा,दक्षिणमा गण्डक र उत्तरमा हिमालयसम्मको भुभाग मिथिलाको रहेको वेदमा उल्ले्ख छ । परिक्रमाको तिन प्रकार मध्येको बृहत परिक्रमा यसै सिमाको गरिने परिक्रमा हो । यो विरलै केहि तेजस्वी साधुसन्तहरुले गर्ने गरेका छन । अहिले हामीले चर्चा गरिरहेको परिक्रमा दोस्रो अर्थात मध्यमा परिक्रमा हो । यहि मध्यमालाई माध्यमिकी भन्न थालिएको हो । तेस्रो परिक्रमा लघु परिक्रमा हो । वृहत वा मध्यमा परिक्रमा गर्न नसक्नेले लघु परिक्रमा गर्नु पर्ने शास्त्रहरुमा उल्लेख रहेको छ । लघु परिक्रमालाई अन्तगृह परिक्रमा भनिन्छ । यो जनकपुर नगरभित्र गरिने परिक्रमा हो । तथापी यसको अलावा मध्यमा परिक्रमासंगै अन्तमा मिलाप हुने पाचदिने परिक्रमा र २४ घन्टे परिक्रमा समेतको विशेषता छ ।
१५ दिने मध्यमा परिक्रमा आफ्नो यात्रामा हिडिरहदा परिक्रमाको दशौ दिन सोहि परिक्रमाको मार्ग हुदै पाचदिने परिक्रमा गर्ने साधुसन्त र गृहस्तहरुले परिक्रमा यात्राको सुरुवात गर्छन । त्यसतै परिक्रमा गनतव्यमा पुग्न २४ घन्टामात्र बाकि हुदा २४ घन्टे परिक्रमा यात्रीहरु यात्रा सुरुवात गर्छन । पाचदिने र २४ घन्टे यात्रीहरु परिक्रमा समापन हुनै लाग्दा १५ दिने परिक्रमायात्रीहरुसंग मिल्न पुग्छन ।
युवाको सहभागिता ः
साधुसन्त र गृहस्तको यात्राले प्रसिद्ध मिथिला माध्यमिकी परिक्रमामा पछिल्लो समय युवाहरुको सहभागिता समेत वढ्न थालेको छ । तथापी अझै धेरै युवाहरु परिक्रममा जोडिनबाट बन्चित भएपनि युवा वर्गमा परिक्रमाप्रतिको उत्साह विस्तारै जाग्दै गएको छ । हरेक वर्ष युवाको संख्या परिक्रमामा बढिरहेको र यो सुखद पक्ष भएको नेपाल पत्रकार महासंघ महोत्तरीका पुर्वअध्यक्ष वरिष्ट पत्रकार दशरथ भण्डारी बताउछन । उनी युवावर्गमा अझै परिक्रमा सम्बन्धी ज्ञान वढाउन आवश्यक रहेको थप्छन । सनातन धर्मको यो वृहत धर्म यात्रा रहेकोले यसमा युवाको सहभागिता अपरिहार्य हुनुपर्ने उनको कथन छ ।
परिक्रमा गरेर उर्जा थप्छन गृहस्त ः
माध्यमिकी परिक्रमामा पहिले साधुसन्तमात्र सम्मिलित हुने गरेकोमा पछिल्लो समय गृहस्तहरुको सहभागिता अत्यधिक हुन थालेको छ । मिथिला क्षेत्रका अधिकांश गृहस्त कृषिसंग जोडिएका छन र यो समय कृषकको आरामको हुन्छ । खेतमा त्यती सार्हो काम यहि समयमा हुदैन । उनीहरु सोहि समयको सदुपयोग गर्दै धर्म गरि पुण्य आर्जित गर्न र सनातन धर्मको आनन्द लिन परिक्रमामा सहभागि हुन्छन । यता भाकल पुरा गर्न समेत गृहस्तहरु परिक्रमा यात्रामा सहभागि हुनेगरेका छन । एउटा नाती भएर जन्मसाथ तत्काल नातीको मृत्यु भएपछि जलेश्वर नगरपालिका २ निवासी नुतन राउतले भाकल गरेकि थिईन । पुनः छोराको सन्तान भएर स्वस्थ्य रहे पाचँवर्षसम्म पाँचदिने परिक्रमामा सहभागि हुने भनेर । उनको सो भाकल पुरा भएको छ । उनी सोहि भाकल पुरा गर्न यस पटक परिक्रमामा सहभागि हुदैछिन । उनी लगायत अनेकौ गृहस्तहरु विभिन्न भाकल गर्ने गरेकोमा अधिकांश भाकल पुरा भएपछि भाकलमा कबोल गरे अनुसार परिक्रमा यात्रा गर्ने गरेका छन ।
सनातन धर्मको प्रचारक माध्यमिकी परिक्रमामा छैन सरकारको ध्यान ः
परापुर्वकाल देखि मिथिलामा निरन्तर परिक्रमा चलिरहेपनि हालसम्म सरकारको ध्यान परिक्रमा व्यवस्थापनमा जान सकेको छैन । खराव सडक,अव्यवस्थित पडाव स्थल(शौचालय र खानेपानीको समेत आधारभुत आवश्यक्ता पुरा नगरिएको) बृहतर जनकपुर विकास क्षेत्रको माध्यमबाट केहि लाख रकम (समुद्रमा थोपा सरह) बजेट राखेर झारो टार्ने गरेको सरकारले यहि परिक्रमाबाट विश्वसामु उदाहरणिय बन्ने अवसर गुमाउदैछ । अधिकांश परिक्रमा पडाव स्थलहरु परिक्रमा पुग्नु एक दुई दिन अगाडी देखि सरसफाई गरिदा प्राय अझै खुल्ला शौचालय जानेहरुले दुर्घन्धित वनाएको शौचालय गरिएको स्थलमै पवित्र यात्रा गर्ने यात्रीहरु बास बस्नु परेको पिडा छ ।
यता विश्वभरका सनातनीलाई एकजुट गर्न परिक्रमा यात्राको प्रचार प्रसार र त्यसको महिमा गाथा फिजाउन सनातनी धर्मसंस्थाहरु समेत परिक्रमाको प्रचार प्रसारमा उदासिन छन ।
यात्रासंगै व्यवसाय पनि ः
माध्यमिकी परिक्रमा केहिले आस्थाको कारण गर्छन भने केहि आस्थासंगै थोरै पैसा कमाउन समेत गर्ने गरेका छन । परिक्रमा बास वस्ने स्थलमा विभिन्न घर प्रयोगका सामाग्री देखि ति पडाव स्थलहरुमा मेला लाग्दा खानेकुरा तथा अन्य विभिन्न सामग्रीहरु बेच्नेहरुको भरमार हुन्छ । परिक्रमाले हजारौलाई व्यापार दिएको छ ।
सुन्दर प्रस्तुति, लेकिन आश्चर्यजनक बात अछी जे जनकपुरधाम मे सीताराम और कृष्ण जेहन हिन्दु देवी-देवता के नाम पर विभिन्न पैलेस, होटल-रेष्टुरेन्ट संचालन क ओहि मे मान्स-मदिरा बिक्रीवितरण कयल जा रहल प्रती स्थानीय सतकार,साधु और समाज मौनव्रत धारण कीया कयने अछी ?
ReplyDelete