महोत्तरी - मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै छ । ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्न लागेको हो । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ ।

उनका अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भने होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ । रंग, अविर, फूलमालाले परिक्रमा यात्रीलाई भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख साहले बताए ।परिक्रमा आज कञ्चनवन पुगेर होलि खेल्ने भएपछि भंगहा नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले परिक्रमा यात्रीको स्वागतको लागि सार्वजनिक बिदा दिएको नगर प्रमुख साहले जानकारी दिए ।कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रंग अविर खोलेर होली मनाएको धार्मिक विश्वास छ । आजको दिन पनि यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होली खेल्ने गर्दछन् ।

कञ्चनवनमा श्रद्धालुले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ ।धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्रि विश्रा्राम गर्ने गर्दछन् । वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ ।