काठमाडौं, सोमबार: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोलाई सफल कार्यकालका लागि बधाई र शुभकामना दिएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महतोको कार्यकाल सफल र फलदायी रहोस् भनी शुभकामना व्यक्त गरेका हुन्।
नेपाल पत्रकार महासंघको सात दशक लामो इतिहासमा पहिलो पटक महोत्तरी जिल्लाबाट केन्द्रीय सदस्यको रूपमा पत्रकार महतो निर्वाचित भएका छन्। यससँगै महोत्तरीले केन्द्रमा प्रतिनिधित्व गर्न पाएको छ।
पत्रकार महतोले १५ वर्षअघि महोत्तरी जिल्लाको बर्दिबासबाट पत्रकारिता यात्रा सुरु गरेका थिए। उनले पत्रकारितामार्फत भुइँमान्छेका आवाजलाई बुलन्द बनाउँदै आएका छन्। समाजका निम्न वर्ग र आवाजविहीनहरूको सवाललाई उठाउँदै आएका महतोको योगदानप्रति प्रधानमन्त्री ओलीले सम्मान प्रकट गरेका छन्।
प्रधानमन्त्री ओलीले नवनिर्वाचित केन्द्रीय समितिका सबै सदस्यलाई शुभकामना दिन बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेका थिए ।




