मकैको बिउ उत्पादन गर्दै आएका बिमल एग्रो फर्म तथा रिसर्च सेन्टरका तीर्थ सुवेदीले विगतमा आफ्नो खेत निरीक्षण र बिउको नमुना परीक्षण गराउन धेरै मिहिनेत गर्नुपर्यो । तर, यसपटक कार्यालयबाटै उनलाई खेत निरीक्षण गर्न आउँदै छौँ भन्ने फोन आयो । कार्यालय प्रमुखसहितको प्राविधिक टिम आएर उनको खेत निरीक्षण भयो ।
चितवनको उन्नत बिज वृद्धि कृषक समूहका अध्यक्ष उमनाथ पौडेलले बिउको प्रतिवेदन र रिपोर्टहरू अफिसमै बसेर प्राप्त हुन थालेपछि झन्झटिलो प्रक्रिया अन्त्य भएको बताए । उनले भने, ‘समय छुट्याएर कार्यालय जाने काम घटेको छ भने यातायात खर्च पनि बचेको छ । काम पनि छिटो भएको छ।’
बिउ उत्पादक कृषक, कृषि समूह, कृषि सहकारी तथा कम्पनीहरूको सहजताका लागि बागमती प्रदेशले अनलाइन सफ्टवेयरको निर्माण गरेपछि अहिले बागमती प्रदेशका बिउ उत्पादकहरू खुसी छन् । गुणस्तरीय बिउबिजनका लागि बागमती प्रदेश सरकारले ‘बिउबिजन प्रयोगशाला व्यवस्थापन प्रणाली’ नामको अनलाइन सफ्टवेयर सुरु गरेको हो ।
बागमती प्रदेशको बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख राजन ढकालका अनुसार सफ्टवेयरको निर्माणपछि कार्यालय नै आउनुपर्ने बाध्यता हटेको छ । सफ्टवेयरमार्फत बिउबिजनको गुणस्तर नियमनको सन्दर्भमा खाद्य बाली निरीक्षण, नमुना संकलन, नमुनाको प्रयोगशाला परीक्षण र बिउ प्रमाणीकरणलगायत बिउबिजनसम्बन्धी सबै सेवा प्रदान हुन्छ ।
www.seedlab.bagamati.gov.np अर्थात् बिउबिजन प्रयोगशालाको आधिकारिक अनलाइन पोर्टलबाट नै बिउ उत्पादकले खेत निरीक्षणसम्बन्धी पूर्वजानकारी फारम, आपूर्तिकर्ता र मागकर्ता रजिस्ट्रेसन फारम भर्न सक्छन् भने बिउ परीक्षण प्रतिवेदन पनि प्राप्त गर्न सक्छन् । फारम राखिएको सम्पर्क नम्बर र ठेगानाबाट नै कार्यालयले बिउ उत्पादकलाई सम्पर्क गर्छ। सफ्टवेयरबाट नै प्रतिवेदन तयार हुन्छ ।
ढकालले भने, ‘प्रविधिको प्रयोग गर्दै किसानलाई छिटो र सहज रूपमा सेवा दिन यो सूचना प्रणली सुरु गरेका हौँ । जसले बिउबिजनको एकीकृत सूचना पनि राख्दै नीति–नियम बनाउन पनि मद्दत पुग्ने विश्वास छ ।’ ‘बिउबिजन प्रयोगशाला व्यवस्थापन प्रणाली’ अनलाइन सफ्टवेयरसँगै कार्यलयको वेबपोर्टलबाट बिउबिजनसम्बन्धी जानकारीहरू, बिउ प्राविधिक तथा संस्थाहरूको विवरण, प्रयोगशालामा परीक्षण भएको बिउबिजनको सारांश रिपोर्टहरू पनि सहजै प्राप्त हुने व्यवस्था कार्यालयले मिलाएको छ।

