अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ । नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि पनि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्धको खेलमा आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले दक्षिण अफ्रिका बलियो राष्ट्र भएकाले यस खेलमा जित निकाल्न सबै खेलाडी सङ्गठित भएर खेल्ने बताए ।
विश्वकपअन्तर्गत समूह ‘डी’मा दक्षिण अफ्रिका छ अङ्कका साथ शीर्ष स्थानमा छभने चार अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा छ । त्यसैगरी, दुई अङ्कका साथ नेदरल्यान्डस तेस्रो स्थानमा रहँदा नेपाल एक अङ्कका साथ चौथो स्थानमा छ । समान एक अङ्क नै बटुलेको श्रीलङ्का अन्तिम स्थानमा छ ।

