मधेश प्रदेशकै ख्यातिप्राप्त जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयले महोत्तरीमा आगलागीका कारण घरबारविहीन भएका १०५ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ।
विद्यालयले महोत्तरीको मटिहानी नगरपालिका- ६ जरलहवा बस्तीमा आगलागीका कारण घरबारविहीन भएका १०५ घरपरिवारलाई बुधबार राहत सामग्री वितरण गरेको हो।
मोनाष्टिकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् टिनको ठूलो बाकसमा प्याक गरेर खाद्यान्न सामग्री, बेड सिट, साबुन, दालमोठलगायतका खाद्यान्न सहयोग गरेको जनाएको छ।
गत बैशाख १० गते मटिहानी नगरपालिका वडा नं ६ जरलहवा बस्तीमा लागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका थिए भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख लालकिशोर साह र मोनाष्टिक स्कुलका निर्देशक डाक्टर सोनु साहले विद्यालयका विद्यार्थी तथा कर्मचारीहरूको सहभागितामा पीडित परिवारहरूलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको हो ।

