Type Here to Get Search Results !

नेपाल–वेस्ट इन्डिज टी–२० सिरिज : नेपाल फराकिलो अन्तरले वेस्ट इन्डिजसँग पराजित

 


जोनसन चार्ल्सको आक्रामक शतकीय इनिङ्सको मद्दतमा वेस्ट इन्डिजले नेपालविरुद्धको तेस्रो टी–२० खेल ७६ रनले जितेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा चार्ल्सले ६१ बलमा ११९ रन बनाएपछि पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा तीन विकेट गुमाएर २२७ रन जोडेको थियो । प्रत्युत्तरमा नेपाल १९.२ ओभरमा १५१ रनमै समेटियो ।

पाँच खेलको सिरिजमा वेस्ट इन्डिज २–१ ले अघि रह्यो । नेपाली बलर यसपटक निकै खर्चिला भए । लक्ष्य पछ्याउँदा नेपालका खेलाडीले एक रूपको प्रदर्शन गर्न सकेनन् । इनिङ्स उस्कानुपर्ने अवस्थामा लगातार विकेट गुमाएपछि नेपालले हारको सामना गरेको हो । नेपालका प्रशिक्षक मोन्टी देसाईले तेस्रो खेलमा नियमित चार खेलाडी परिवर्तन गरेका थिए । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाल मैदानमा उत्रेको थियो । विनोद भण्डारी, करण केसी, विवेक यादव र कमलसिंह ऐरीले तेस्रो खेलमा अवसर पाएका थिए । रोहितसँगै, सोमपाल कामी, आकाश चन्द र कुशल भुर्तेल बाहिर रहे । 

चार्ल्सको आक्रामक शतक
वेस्ट इन्डिजका कप्तान रोस्टन चेजको टस जित्दै ब्याटिङ गर्ने निर्णय सही देखियो । नेपालले ३.१ ओभरमा ओपनर अलिक अथानाजेको विकेट लिए पनि त्यसपछि पाहुना टोलीका ब्याट्सम्यानले आक्रामक ब्याटिङ गरेका थिए । चार्ल्स र एण्ड्रे फ्लेचरबीच दोस्रो विकेटका लागि ३.१ देखि १५.५ ओभरसम्म १४५ रनको साझेदारी भएको थियो । दुवै ब्याट्सम्यानले नेपाली कप्तान रोहित पौडेलले प्रयोग गरेका बलरविरुद्ध स्ट्रोक लगाए । 

चार्ल्सले आफ्नो विस्फोटक ब्याटिङमा १३ चौका र सात छक्का प्रहार गरेका थिए । उनी अन्तिमसम्म आउट भएनन् । चार्ल्सले २० बलमा ५० रन जोड्न पाँच चौका र चार छक्का प्रहार गरे । चार्ल्स र फ्लेचरले वेस्ट इन्डिजलाई १० ओभरमा १०१/१ को बलियो स्थितिमा राखेका थिए । 

मैदानको चारैतिर विशाल स्ट्रोक लगाएका चार्ल्सले ५५ बलमा सय रन पूरा गरे । यसवेला उनले ११ चौका र ६ छक्का प्रहार गरे । वेस्ट इन्डिजले १४.२ ओभरमा १५० तथा १८ ओभरमा दुई सय रनको योगफल बनाएको थियो । अर्कोतिर चार्ल्सलाई राम्रो साथ दिइरहेका फ्लेचरले ३० बलमा अर्धशतकीय इनिङ्स खेले । अर्धशतक बनाउँदा उनले चार चौका र तीन छक्का प्रहार गरेका थिए । उनलाई सागर ढकालले दीपेन्द्रसिंह ऐरीबाट बाउन्ड्रीमा क्याच आउट गराए ।

 नेपालको मध्यक्रम कमजोर
२२८ रनको लक्ष्य पछ्याउँदा नेपालका मध्यक्रमका ब्याट्सम्यानबीच गतिलो साझेदारी हुन सकेन । मध्यक्रमका अनिल साहले १४, आरिफ शेखले ३, कुशल मल्लले २०, गुल्सन झाले ६ र विवेक यादवले ३ रन बनाए । कप्तानी गरिरहेका दीपेन्द्रसिंहले आठौँ क्रममा ब्याटिङ गर्दै ७ रन जोडे । नेपालको ओपनिङ राम्रो भएको थियो । विनोद र लोकेश बमले पहिलो विकेटका लागि ३.६ ओभरमा ३६ रन बटुलेका थिए । विनोद अनावश्यक सट प्रहार गर्ने क्रममा वाल्सबाट क्याचआउट भए । 

उनले १५ बलमा चार चौका प्रहार गरी १९ रन बटुले । अनिल र लोकेशले दोस्रो विकेटका लागि १५ रनको साझेदारी गरे । अनिलले दु्ई छक्का प्रहार गरे । मध्यक्रममा ब्याटिङ धरममराउँदा नेपाल १०६–७ को कमजोर स्थितिमा पुग्यो । इनिङ्सको कुनै पनि समयमा नेपालले लक्ष्यअनुरूप रेनरेट मेन्टेन गर्न सकेन । करणले अन्तिमतिर १७ बलमा २८ रन जोड्न तीन चौका र एक छक्का प्रहार गरेका थिए । 

गुल्सनबाहेक सबै बलर खर्चिला
कप्तान रोहितले वेस्ट इन्डिजविरुद्ध  ६ जना बलर प्रयोग गरेका थिए । गुल्सन झाबाहेक सबै बलर खर्चिला देखिए । गुल्सनले चार ओभरमा २४ रन मात्र दिएका थिए । करण केसीले एक विकेट हात पार्न ५४ रन दिए । सागरले ४१ रन खर्चेर एक विकेट लिए । कुशल मल्लले दुई ओभरमा २६ तथा विवेक यादवले दुई ओभरमा २८ रन खर्चे । वेस्ट इन्डिजको ब्याटिङ क्रममा फाविआन एलेनले ९ बलमा दुई चौका र एक छक्का प्रहार गरी १९ रन बनाए । किमो पाउलले सात बलमा समान एक चौका र छक्का प्रहार गरी १३ रन बनाए । 

 कमल र सागर समेट्दै नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने १५ खेलाडी घोषणा गरेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार वेस्ट इन्डिज ‘ए’ टोलीसँगको तेस्रो खेलको समाप्तिपछि क्यानले रोहितको कप्तानीमा अनुभवी टोली घोषणा गरेको हो । टी–२० विश्वकपमा अनिलकुमार शाह, स्पिनर सागर र कमलसिंह ऐरीले स्थान बनाएका छन् ।

वैकल्पिक ओपनिङ ब्याट्सम्यानका रूपमा अनिल छन् । विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, आसिफ शेख, आकाश चन्द र विवेक यादवले टोलीमा स्थान बनाउन सकेनन् । कप्तान रोहित, कुशल, सन्दीप, दीपेन्द्रसिंह र गुल्सनले मध्यक्रम ब्याटिङ लाइनअप सम्हाल्नेछन् । रोहित, कुशल, दीपेन्द्र र गुल्सनले अलराउन्ड प्रदर्शन गर्न सक्छन् । 

आगामी महिना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि राष्ट्रिय टोलीमा परेपछि नेपालका बलिङ अलराउन्डर सोमपाल कामीले ऐतिहासिक सफलता प्राप्त गरेका छन् । घोषित नेपाली टोलीमा सन् २०१४ को विश्वकप खेलेका एक मात्र खेलाडी सोमपाल हुन् ।

दोस्रोपटक विश्वकप खेल्ने संघर्ष गरिरहेका विकेटकिपर ब्याट्सम्यान विनोद यसपटक छनोट भएनन् । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आगामी जुनदेखि टी–२० विश्वकप आयोजना गर्दै छन् । नेपाल समूह ‘डी’मा रहेको छ । नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । सन् २०१४ पछि नेपालले दोस्रोपटक विश्वकप खेल्न लागेको हो । नेपालले आफ्नो पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । यो खेल अमेरिकाको टेक्सासमा हुनेछ । 

नेपाली टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, गुल्सन झा, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today