Type Here to Get Search Results !

मुद्दा फाँटबाटै थुनुवा भागे, समात्न खोज्दा जवानले ज्यान गुमाए


 जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा सोमबार भाग्न खोजे। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका– १ का उमेशसिंह कुँवर प्रहरीको मुद्दा फाँटमा सोधपुछको क्रममा भाग्न खोजेका हुन्।

हातमा हतकडी लगाएकै अवस्थामा भाग्न खोज्दा प्रहरी जवान सुहान चौधरीले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हाम फालेर भाग्ने क्रममा चौधरीले उनलाई रोक्न खोजेका थिए। हतकडीसहित हाम फालेका कुँवरसँगै हुत्तिएर चौधरी भिरबाट लडे। झन्डै सय मिटर तल खसेपछि प्रहरी जवानको ज्यान गएको छ।‘थुनुवा भागेपछि प्रहरी जवानले रोक्न खोजे,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले भने। टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा पुर्‍याउँदा मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए।

हाम फालेर भागेका कुँवर महाकाली तरेर भारततर्फ लागे। प्रहरी पनि सँगै नदी तरेर भारतपट्टि पुगेर नियन्त्रणमा लिइएको इन्स्पेक्टर सिंहले बताए। भारतबाट गोरखा रेजिमेन्टले पनि सहयोग गर्‍यो। गत माघ ७ गते ड्युटीमा खटिएका दुईजना प्रहरीमाथि चक्कु प्रहार गरेका कुवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो।आफ्नै श्रीमती धनिशा कुँवरलाई बन्दक बनाएर हिंसा गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई सोधपुछका लागि जाने क्रममा प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट ठगुन्नाको आँखामा चोट लाग्यो।

कुँवरविरुद्ध प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो। 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today