Type Here to Get Search Results !

विनोद चौधरीको बयान– संचालक समितिको आग्रहमा लगानी गरेका हौँ, हाम्रो गल्ती केही छैन

 


बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद विनोद चौधरीले बिहीबार करिब ३ घन्टा बयान दिएका छन् । माइतीघर मण्डलास्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा गएर उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसन्धान अधिकृतहरू र सो मुद्दा हेर्ने सरकारी वकिललाई बयान दिएका हुन् ।काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको कम्पाउण्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयर मार्फत ‘चौधरी समूह’ले जग्गा निजीकरण गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । त्यसबेला बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडको नामको १० रोपनी जग्गा हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा आएको छ ।बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडसँग पुँजी थोरै भएको तर, प्रविधि भएको हुनाले लगानी गर्न आग्रह गरेपछि चौधरी समूहले च्याम्पियन फुटवेरमा लगानी गरेको विनोद चौधरीले बयानमा बताएका छन् । बयानमा उनले भनेका छन्,‘पुँजी कम थियो तर, प्रविधि उनीहरूसँग थियो । पार्टनरसिपमा काम गर्न आह्वान गरेपनि हामी संलग्न भएका हौँ ।’चौधरी समूहको ३६ लाख लगानीमा सरकारसँगको साझेदारीमा स्थापना गरिएको ‘च्याम्पियन फुटवेयर’ मार्फत १० रोपनी जग्गा अरुण चौधरी समेतले निजीकरण गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । चौधरी समूहले २०४४ सालमा ६ रोपनी र त्यसपछि ४ रोपनी जग्गा निजीकरण गरेका हुन् । २०७५ मा सो जग्गा चाँदबाग रेसिडेन्सी प्रा.लिको नाममा लगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

च्याम्पियन फुटवेयरमा लगानी गर्दा जग्गा हडप्ने उद्देश्य नराखिएको विनोदको जिकिर छ । बयानमा उनले भनेका छन्,‘त्यसबेला ठमेलमा १ लाखमा जग्गा आउँथ्यो, कानुन अनुसार जग्गा लिएको हुनाले हाम्रो गल्ती केही छैन ।’

ब्युरोका अधिकारी र सरकारी वकिलसँग चौधरीले ‘सहयोग गर्न आएको हुँ’ भनेका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘उहाँले अनुसन्धानलाई सहयोग गर्न आएको हुँ भन्नुभयो ।’

विनोद पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् । उनका कान्छो भाइ अरुण, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष संजय ठाकुरलाई प्रहरीले माघ १८ मा पक्राउ गरेर बयान लिएको थियो । जिल्ला अदालतको आदेशले उनिहरुले ‘हाजिर जमानी’मा रिहा भएका छन् ।

च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार उनका अर्का भाइ वसन्त चौधरीलाई पनि घटना विवरण कागज गराएको थियो ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today