भारतको गुजरातमा ‘विश्वकै ठूलो’ स्वच्छ ऊर्जा प्लान्ट बनाइँदै छ । यो ऊर्जा प्लान्ट फ्रान्सको पेरिस सहरभन्दा पाँच गुणा ठूलो र अन्तरिक्षबाट समेत देखिने जनाइएको छ ।
सो ऊर्जा प्लान्टले उत्पादन गर्ने विद्युत् पूरै स्वीट्जरल्यान्डका निम्ति पुग्नेजति हुनेछ । यो प्रोजेक्ट भारतीय उद्यमी गौतम अडानीको कम्पनीको हो ।
अडानी ग्रीन इनर्जी लिमिटेड (एजीईएल)का कार्यकारी निर्देशक सागर अडानीले परियोजना हेरिरहेका छन् । सागर अडानी गौतमका भतिजा हुन् ।करिब १०० अर्ब अमेरिकी डलर सम्पत्ति भएका गौतम अडानी भारतमा सबैभन्दा ठूलो कोइला आयात र उत्खननकर्ता हुन् । सन् १९८८ मा स्थापित अडानी ग्रुपले बन्दरगाह, थर्मल पावर प्लान्ट, मिडियादेखि सिमेन्टसम्मका क्षेत्रमा व्यवसाय गर्छ ।
अडानी ग्रुपको स्वच्छ ऊर्जा इकाइ एजीईएलले पश्चिम भारतको गुजरात राज्यमा करिब २० अर्ब अमेरिकी डलरको लागतमा सौर्य र वायु ऊर्जा प्लान्ट निर्माण गरिरहेको हो । पाँच वर्षमा यसको निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । विश्वकै सबैभन्दा ठूलो स्वच्छ ऊर्जा पार्क बन्ने यसले भारतका एक करोड ६० लाख घरमा बिजुली उपलब्ध गराउनेछ ।खाब्दा नवीकरणीय ऊर्जा पार्क एवं गुजरात हाइब्रिड नवीकरणीय ऊर्जा पार्क समेत भनिएको यो परियोजनाबाट जलवायु परितर्वनविरुद्ध लड्न आवश्यक स्वच्छ ऊर्जाको माग पूरा गर्ने लक्ष्य राखिएको छ ।
आर्थिक फड्कोसँगै भारतमा ऊर्जाको माग समेत बढ्दो छ । तर, भारतले उत्पादन गर्ने बिजुलीको ७० प्रतिशत हिस्सा कोइलाको छ । कोइला प्रदूषणको एक महत्त्वपूर्ण कारक तत्त्व हो ।
पाकिस्तानसँगको सीमाबाट करिब १९ किलोमिटर टाढा यो पार्क ३२२ वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलनेछ । सागर अडानीले भनेका छन्, “यो ठूलो क्षेत्रमा कुनै वन्यजन्तु छैन र कुनै वनस्पति पनि छैन । त्यहाँ कुनै वासस्थान छैन । त्यो जग्गाको अर्को राम्रो विकल्प छैन ।”
अमेरिकी सर्ट सेलर हिन्डेबर्ग रिसर्चले दशकौँदेखि ठगीको आरोप लगाए पनि अडानी ग्रुपले त्यसलाई अस्वीकार गर्दै आएको छ । आफ्नो व्यापारिक विस्तारलाई निरन्तर राख्दै अडानी ग्रुपले स्वच्छ ऊर्जा क्षेत्रमा अर्बौँ रकम खर्च गरिरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो दशकको अन्त्यसम्ममा ५० प्रतिशत ऊर्जा सौर्य एवं वायु ऊर्जाजस्ता नवीकरणीय स्रोतबाट आपूर्ति गर्ने लक्ष्य घोषणा गरेका थिए । २०२१ मा उनले २०७० सम्ममा ‘नेट जिरो’ उत्सर्जनको लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेट जिरो भनेको जति प्रदूषण उत्सर्जन गर्छ, त्यति प्राकृतिक रूपमै नष्ट हुन सक्ने स्थिर स्थिति हो ।
भारतले सन् २०३० सम्ममा ५०० गिगावाट स्वच्छ इन्धन उत्पादन गर्ने लक्ष्य राखेको छ । एक हजार मेगावाटबराबर एक गिगावाट हुन्छ ।
अडानीको एजीईएलले त्यसको कम्तीमा नौ प्रतिशत स्वच्छ ऊर्जा ३० गिगावाट क्षमताको यसै पार्कबाट उपलब्ध गराउने लक्ष्य राखेको छ । भारतका निम्ति पहिले कल्पना नगरिएको क्षमताका ठूला परियोजना अघि बढाउनुको विकल्प नभएको ३० वर्षीय सागर अडानीले बताएका छन् ।
भारत ऊर्जा खपत गर्ने विश्वको तेस्रो ठूलो देश हो । सन् २००० यता भारतमा उर्जाको माग दोब्बर भएको छ, जसको ८० प्रतिशत कोइलाबाटै आपूर्ति गरिन्छ ।
चीन, अमेरिका र युरोपले झैँ भारतले पनि जीवाश्म इन्धन नै प्रयोग गरेमा जलवायु परिवर्तनका कारण भविष्य अन्धकारमय हुने उनको भनाइ छ ।
भारतमा आउँदा केही वर्षमा कम्तीमा ६ प्रतिशतको वार्षिक वृद्धि हुने र यो दशक नबित्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सक्ने आकलन गरिएको छ ।
भारतमा आउँदो ३० वर्षसम्म हरेक साल सहरी जनसंख्यामा लन्डनबराबरको संख्या थपिन सक्ने अनुमान गरिएको छ । “यदि, तपाईं ८०० गिगावाट ऊर्जा कोइलाबाट उत्पादन गर्नुहुन्छ भने त्यसले विश्वमा अहिले भइरहेका कार्बन उत्सर्जन न्यूनीकरणका सबै पहल समाप्त पार्नेछ,” उनले भने । सीएनएनबाट ।

