Type Here to Get Search Results !

उमेर पुगी बिहे गर्ने दम्पतीलाई ५० हजार प्राेत्साहन रकम


 महोत्तरीको बर्दीबास नगर क्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर समुदायका दम्पतीले रु. ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन्। 

आज बर्दिबास– १४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठजनाको लघुजीवन बिमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गरेका हुन्। 


‘छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरूको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले रु. ५० हजार नगद प्रोत्साहन रकम दिनेछ,’ नगर प्रमुख क्षेत्रीले भने, ‘यसले तपाईंहरूको स्वास्थ्य र परिवार राम्रो बन्नेछ।’

यो कार्यक्रम नगर क्षेत्रका सबै मुसहर समुदायमा लागू हुने क्षेत्रीले स्पष्ट पारे। नगर क्षेत्रभित्रका स्थायीवासी मुसहर पुरुष–महिला दुवैलाई यो रकम उपलब्ध गराइने क्षत्रीको भनाइ छ। सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताए। २० वर्ष नपुगी विवाह गर्न  नपाइने व्यवस्था भए पनि मुसहर बस्तीमा बालविवाह भने यथावत् नै छ। अठारदेखि ६९ वर्ष उमेर समूहका मुसहरहरूको तीनवर्षे लघुजीवन बिमाबापत् रकम बर्दीबास नगरपालिकाले एकमुस्ट रु. एक लाख १९ हजार तीन सय ४५ जम्मा गरेको हो। बिमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दीबास शाखामा गरिएको छ। 

नगर प्रमुख क्षेत्रीसहित बिमा कम्पनीका अधिकृत बस्तीमै पुगेर लघुजीवन बिमा गराइएको हो। गरिबी, अशिक्षा र सबैखाले अवसरबाट वञ्चित मुसहरलाई भैपरी आउने दुर्घटनामा राहत होस् भन्ने उद्देश्यले लघुजीवन बिमा गराइएको जनाइएको छ। बिमितले तीन वर्षपछि भवितव्य पर्दा रु. एक लाख नगद पाउने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख रवीन्द्रकुमार मिश्रले जानकारी दिए। 

नगरपालिकाले बिमा गरिदिँदा स्थानीय सरकारबाट सहयोग पाइने आशा जागेको बस्तीकी ५८ वर्षीया मानकी सदाले बताइन्। सोही बस्तीका ६६ वर्षीय सुकेश्वर सदा र २२ वर्षीया निशा सदाले लघुजीवन बिमा गरिदिएकोमा खुसी व्यक्त गरे। 

मुसहर बस्तीकी ५७ वर्षीया रजिया सदाले आफ्ना नातिनातिनालाई २० वर्ष उमेर कटाएर मात्र बिहे गर्न सल्लाह दिने बताइन्। बर्दीबास– १४ को नमुना मुसहर बस्ती धुर्मुस सुन्तली फाउन्डेसनले बनाएर ५२ मुसहर परिवारलाई ०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको थियो। रासस 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today