एजेन्सी – लिभरपुलले इंग्लिश फुटबल लिग कपको उपाधि हात पारेको छ । प्रशिक्षक योर्गन क्लोपले यस सिजन पश्चात क्लब छोड्ने घोषणा गरेपश्चात लिभरपुलले लिग कपको उपाधि जितेको हो ।
सुरुवाती रोजाईका धेरै खेलाडी चोटका कारण गुमाएको लिभरपुलले चेल्सीविरुद्ध अतिरिक्त समयमा गोल गर्दै उपाधि उचाल्न सफल भएको हो । लिभरपुलका लागि कप्तान तथा डिफेन्डर भर्जील भ्यान डाइकले उपाधि दिलाउन गोल गरेका हुन् ।
अतिरिक्त समय सकिएर खेल पेनाल्टी शूटआउटमा धकेलिन दुई मिनेट बाँकी रहँदा उनले गोल गरेका थिए । कोन्सटान्टिनोस सिमिकासले खेलेको कर्नर किकमा हेडर मार्फत गोल गर्दै उनले जित दिलाएका थिए ।
त्यसअघि खेलमा दुवै टोलीले धेरै मौकाको सदुपयोग गर्न सकेका थिएनन् । १४औं मिनेटमा लिभरपुलका लुइस डीयाजको प्रहार चेल्सी गोलरक्षक पेट्रोभिचले बचाएका थिए ।
२१औं मिनेटमा लिभरपुल गोलरक्षक केल्लेहरले कोल पालमरलाई विफल पारे । ३२औं मिनेटमा रहिम स्टरलिङ्गले गोल गरेपनि उनी अफसाइड रहेका थिए ।
४०औं मिनेटमा लिभरपुलका कोडी गाक्पोको हेडर पोस्टमा लागेर बाहिरिएको थियो । ६०औं मिनेटमा भ्यान डाईकले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले फाउल भएका कारण रद्द गरेका थिए ।
७६औं मिनेटमा चेल्सीका कनर ग्यालाघरको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो । इन्ज्युरी समयमा चेल्सीले लगातार केही अवसर खेरा फालेपछि अन्तिम समयमा जित निकाल्न सकेन ।
अतिरिक्त समयमा भने लिभरपुलले बाजी मार्यो । लिभरपुलको यो कीर्तिमानी १०औं लिग कप उपाधि समेत हो ।
The post लिभरपुललाई इंग्लिश लिग कपको उपाधि first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/WGwnsNu
