Type Here to Get Search Results !

सर्लाही बरहथवा घटना: जिल्ला प्रहरी कार्यालय तानिए गोली चलाउने वरिष्ठ हवल्दार

 


एसपी धिताल भन्छन्- आत्मरक्षाका लागि गोली चलाएको भनेका छन्, छानबिन गर्दैछौं                                                                                 सर्लाहीको बरहथवा घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय तानिएका छन्। 

शुक्रबार दिउँसो प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा विवाद भएर झडप हुँदा एक जना युवकको गोली लागेर मृत्यु भएको थियो। 

बरहथवा नगरपालिका-६ का जयशंकर साहको मृत्यु भएको थियो। उनको टाउकोमा गोली लागेको छ। 

उनको शव तीन दिनदेखि घटनास्थलमै राखिएको छ। घटना हुँदा प्रहरीले गोली चलाएको भएपनि जिल्ला प्रशासन कार्यालयले भने गोली चलाउन कुनै आदेश नै नदिएको बताउँदै आएको छ। 

उक्त घटनापछि यसबारे थप बुझ्न हवल्दार सोनेलाल यादवलाई जिल्ला तानेर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविण धितालले जानकारी दिए। 

‘मेयरको घरतिर तोडफोड-आगलागी भयो भन्ने खबर पाएपछि थप मद्दतको टोली खटिएको थियो। मद्दतका लागि गएको टोलीलाई घेरेर बन्दुक तानातान भएको भनेका छन्,’ एसपी धितालले भने, ‘त्‍यसक्रममा आत्मरक्षाका लागि गोली चलाएको भनेका छन्। हामी छानबिन गर्दैछौं।’ त्यहाँ केही हवाइ फायर गरेर मात्रै उनी आन्दोलन भइरहेको ठाउँमा पुग्न सकेको प्रहरीसँग भनेका छन्।  

उक्त घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला तानेसँगै निलम्बन गर्ने तयारी समेत रहेको उनले बताए।तयारी अवस्थामा बसेर नहानिएको प्रहरीको भनाइ छ।  स्थानीयले भने प्रहरी वरिष्ठ हवल्दार यादवले ताकेर गोली प्रहार गरेको आरोप लगाएका छन्।

हवल्दार यादव इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत थिए।

मृतक साहको शव उठाउन परिवार, प्रदर्शनकारी र प्रशासनबीच छलफल भइरहेको छ। सहमति हुन नसक्दा शव घटनास्थलमै राखिएको छ। निरन्तर छलफल भइरहेपनि सहमति हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए।

उनीहरूले राखेका अधिकांश मागहरू सम्बोधन गर्न तयार भएपनि कतिपय मागहरू तत्काल पूरा हुने अवस्था नरहेकाले लगातार छलफलमार्फत सहमतिको प्रयास भइरहेको उनले बताए।

अहिले शवलाई परालले छोपेर सडकमै राखिएको छ। मृतकका आफन्त, प्रदर्शनकारी र सुरक्षाकर्मीले घटनास्थलमै शव कुरेर बसेका छन्।

‘सहमति नगरी शव उठाउन सक्ने अवस्था छैन, प्रदर्शनकारी र मृतकका आफन्त आक्रोशित छन्। लगातार छलफल भइरहेपनि सहमति जुटेको छैन। आज प्रदेशका मन्त्रीज्यू पनि छलफलमा आउने भनिएको छ,’ उनले भने।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ।

समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

बरहथवामा प्रहरी र स्थानीयबीच झडपमा एक जना प्रहरी पनि घाइते भएका छन्।

असई भिखारी यादवको टाउकोमा गम्भीर चोट लागेको एसपी प्रविण धितालले बताए। उनको वीरगञ्जस्थित नेशनल अस्पातलमा उपचार भइरहेको छ। अन्य सात प्रहरी सामान्य घाइते भएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today