Type Here to Get Search Results !

मध्यवर्तीका बासिन्दालाई बालीसँगै ज्यान जोगाउन मुस्किल

 




नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही ९ पुसमा ज्यान गयो। 

पुस ४ गते कावासोती– १ मा गैँडाको आक्रमणबाट पुष्प परियार घाइते भए। पुस १९ गते कावासोती– ८ का पतिराम महतो गैँडाको आक्रमणमा परे।  यसैगरी, गत मंसिर १९ गते देवचुली– १०  मा गैँडाको आक्रमणबाट भुलमाया विक र छमबहादुर सारू घाइते भए। वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने र घाइते हुने यी केही पछिल्ला प्रतिनिधि घटना हुन्। जिल्लाको मध्यवर्ती आसपासका बासिन्दालाई आफूले लगाएको बालीसँगै हिजोआज ज्यान जोगाउने चिन्ताले सताउन थालेको छ। 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपुरका बासिन्दा वन्यजन्तुका कारण चिन्तित बनेका छन्। गैँडा, मृग, बँदेललगायतका जनावर बस्तीमा प्रवेश गर्न थालेसँगै क्षतिसमेत बढ्दो छ। वन्यजन्तुले लगाएको बाली नोक्सान पार्ने, घरपालुवा चौपाया नोक्सान पुर्‍याउनुका साथै मानवीय क्षतिसमेत पुर्‍याउन थालेसँगै समस्या जटिल बनेको कावासोती– १० की सीता पँगेनीले बताइन्। दैनिकजसो खेतमा गैँडा आउने गरेको छ, लगाएको गहुँ भित्र्याउने वेलासम्म सकिन्छ कि भन्ने चिन्ता छ, त्यतिमात्रै होइन, साँझ–बिहान घरबाहिर हिँडडुल गर्न पनि डरलाग्दो भएको छ,’ उनले भनिन्। दिनहुँजसो गैँडा बस्तीमा आएर दुःख दिन थालेको जनाउँदै नियन्त्रणका लागि निकुञ्ज प्रशासनसहित सरोकारवालाले ध्यान दिनुपर्ने उनले बताइन्। 

मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको क्षति बढ्दो रहेको मध्यविन्दु नगरपालिका– २ का वडाध्यक्ष रामभक्त अधिकारीले बताए। पटक–पटक वन्यजन्तुले बालीनाली, चौपायामा क्षति पुर्‍याउने तथा मानिसलाई आक्रमण गरी घाइते बनाउने गरेको वडाध्यक्ष अधिकारीले बताए। मध्यवर्तीका बासिन्दालाई जनधनको सुरक्षा गर्न मुस्किल भएको उनकाे भनाइ छ।

मध्यवर्तीमा वन्यजन्तुको समस्याले गर्दा बसाइँसराइको प्रभाव पार्दै आएको कावासोती– ११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले बताए। ‘वन्यजन्तुले दुःख दिन्छ भनेपछि बसाइँसराइ गरी आउने कम हुने त भयो नै, भएका पनि आजित भएर सक्ने अन्यत्र जान थालेका छन्,’ उनले भने। वन्यजन्तुकै कारण हिजो मध्यवर्ती क्षेत्रका पुराना बस्ती पातलिने क्रम बढ्दै गएको उनले बताए। 

संरक्षणकर्मी प्रेमशंकर मर्दनिया थारूले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जभित्र पर्याप्त घाँसेमैदान निर्माण गर्ने र वन्यजन्तुलाई मानव बस्तीमा आउन नदिन पर्खालसहितको मेसजाली लगाउनुपर्ने बताए। 

‘वनभित्र वन्यजन्तुको वासस्थान सुधार गर्ने, पर्याप्त आहारा हुने गरी घाँसेमैदान निर्माण गर्ने साथै पर्खालसहितको मेसजाली लगाउने काम गर्न आवश्यक छ,’ उनले भने, ‘यसबाट वन्यजन्तु  बस्तीतर्फ आउने क्रम कम हुन्छ र क्षति न्यूनीकरणमा सहयोग पुग्छ।’ वन्यजन्तुको संरक्षणसहित यसको क्षति रोक्न सरकारीस्तरबाट योजना निर्माण गर्नुपर्ने उनले बताए। 
 
मध्यवर्तीका कारण आर्थिक विकासमा असर परेको कावासोती नगरपालिका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए। मध्यवर्तीकै कारण विकासका काम गर्न बाधक भएको तथा यहाँका बासिन्दाले आफ्नो सम्पत्तिको सही उपभोग गर्न समस्या परेको उनले जानकारी दिए। 

वन्यजन्तुले पुर्‍याएको क्षति मात्रै नभएर मध्यवर्तीले विकासका काममा समस्या पारेको नगरप्रमुख भुसालले बताए। 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today