Type Here to Get Search Results !

जानकी मन्दिरमा पर्यटकको घुइँचो


 विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ भएको छ । पुस महिनायता मन्दिरमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको जानकी मन्दिरका पुजारी मनोज दास बताउँछन् । उनले प्रत्येक वर्ष पुस महिनामा जानकी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको भीडभाड हुने गरेको बताए ।

मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा नेपालका साथै छिमेकी मुलुक भारतको विभिन्न राज्यबाट पर्यटक आउने गरेको पुजारी दासले जानकारी दिए । अहिले पर्यटकको भीड जानकी मन्दिरपछि राममन्दिर, लक्ष्मणमन्दिर, विवाह मण्डपका साथै धनुषाको धनुषाधाम रहेको धनुषा मन्दिरमा देखिन्छ । पर्यटक नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश, मध्येप्रदेश, उत्तराखण्डलगायत राज्यबाट पर्यटक जनकपुरधाम आउने गरेका छन् ।

काठमाडौँ इन्द्रचोक बस्ने विजयमान श्रेष्ठले पहिलो आज पटक जनकपुरधामस्थित जानकी मन्दिर धुम्न आएको बताए । “विवाह पञ्चमी महोत्सवबारे सञ्चार माध्यममा हेरेपछि जानकी मन्दिर घुम्न आएको छु”, उनले भने, “श्रीमती छोरा, छोरी गरी परिवारका १२ सदस्यसहित जनकपुरधाम घुम्न आएको छु ।”

भारतको मध्य प्रदेशको अशोकनगर जिल्लाबाट गाउँको ६० जनाको समूहका जानकी मन्दिर घुम्न आएको दर्शनार्थी मनोज शर्माले बताए । उनले काठमाडौँको पशुपतिनाथको दर्शनपछि जानकी मन्दिर दर्शन गर्न आएको जानकारी दिए ।

जानकी मन्दिरको दर्शन गरेपछि आफू धन्य भएको बताउँदै शर्माले माता सीताको जन्मभूमि तथा भगवान् रामको ससुराली दर्शन गर्नाले पुण्य प्राप्त हुने विश्वास व्यक्त गरे । “यहाँबाट गएपछि गाउँका अन्य मानिसलाई पनि जानकी मन्दिर घुम्न आउन सुझाव दिन्छु”, शर्माले भने “जनकपुरधाममा दुई दिन बसेर यहाँका अन्य धार्मिकस्थलमा घुमघाम गर्दै पूजाअर्चना गर्ने कार्यक्रम छ ।”

भारतको १२ वटै ज्योतिर्लिङ्ग (सोमनाथ, मल्किार्जु स्वामी, महाकालेश्वर, ऊँकारेश्वर, केदारनाथ, भीमाशङ्कर, काशी विश्वनाथ, त्रयम्बकेश्वर, वैधनाथ, नागेश्वर, रामेश्वरम र घृष्णेश्वर मन्दिर) को पैदल यात्रा गरेका विजय दास पनि यतिबेला जनकपुरधाम आइपुगेका छन् ।

भारत सिवान जिल्ला गोठनी प्रखण्डका दास अयोध्याबाट जनकपुरधाम पनि पैदल यात्रा गरेर यहाँ आइपुगेका हुन् । यहाँबाट काठमाडौँको पशुपतिनाथको दर्शन गर्न पनि पैदल नै जाने उनले बताए ।

दास १७ महिनादेखि निरन्तर पैदल यात्रामा रहेका छन् । गोमुखबाट गङ्गा जल भरेर १२ वटै ज्योतिर्लिङ्गमा अर्पण गर्ने अठोट लिएर पैदल यात्रामा रहेको उनी बताउँछन् । सोही क्रममा जानकी मन्दिरको दर्शन गर्दै काठमाडौँ हिँड्ने योजना रहेको दासको भनाइ छ ।

अहिले जनकपुरधाममा भारतीय र नेपाली पर्यटकको आउजाउ बढेको होटेल व्यवसायी अभिषेक भुनझुनवालाले बताए । उनका अनुसार दैनिक करिब आठ सयको सङ्ख्यामा जनकपुरधाम आउने गरेका छन् । सीताको जन्मभूमि रहेको कारणले धार्मिक पर्यटक जनकपुरधाम अत्यधिक आउने गरेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today