Type Here to Get Search Results !

सञ्चारमाध्यम बन्द हुँदा पत्रकार पलायन


१० वर्षभन्दा बढी समय बेनीमा रेडियो, पत्रिका र अनलाइनमा काम गरेका पदम विश्वकर्मा गत भदौमा अस्ट्रेलिया गए। बेनीका अर्का पत्रकार धीरनबहादुर खत्री पनि एक दशक लामो पत्रकारितालाई बिट मारेर वैदेशिक रोजगारीका लागि यसै हप्ता युएई जाने तयारीमा छन्। 

विश्वकर्मा र खत्री पेसा छाडेर वैदेशिक रोजगारीमा जाने म्याग्दीका पत्रकार उदाहरण मात्र हुन्। पत्रकार महासंघ जिल्ला शाखाअन्तर्गत तीन वर्षअघि ६२ साधारण सदस्य रहेका थिए।पत्रकार महासंघ शुद्धीकरण अभियानपछि जिल्लामा साधारण सदस्य १२ र अन्य गरेर १५ जनाको हाराहारीमा पत्रकार तथा सञ्चारकर्मी छन्। महिला पत्रकारको संख्या न्यून छ। पत्रकारिता छाडेर व्यापार, व्यवसाय, शिक्षण, वैदेशिक रोजगार र गैरसरकारी संस्थामा जागिर गर्न थालेका छन्। 

पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रकाश पौडेल सञ्चारमाध्यम बन्द हुने र पत्रकार पलायन हुने दुःखद अवस्था आएकोमा चिन्ता व्यक्त गरे। ‘सञ्चारमाध्यम रहे पत्रकार हुने हो, सञ्चारगृह धमाधम बन्द हुन थालेका छन्,’ उनले भने, ‘निगरानी र खबरदारी गर्ने भूमिकामा रहेका पत्रकार पलायन हुँदा समाजमा अनियमितता, विकृति, बेथिति, विसंगतिले प्रशय पाउने जोखिम छ।’ पछिल्लो दुई वर्षयता बेनीबाट सञ्चालन हुँदै आएको रेडियो म्याग्दी, म्याग्दी प्रेस दैनिक, म्याग्दी सञ्चार साप्ताहिकले प्रसारण तथा प्रकाशन बन्द गरेका छन्। समृद्ध र मालिका प्रेस साप्ताहिक नियमित प्रकाशन तथा वितरण हुन सकेका छैनन्। 

रुप्से सञ्चार सहकारी संस्थाद्वारा प्रकाशन हुँदै आएको रुप्से दैनिक पत्रिका सहकारीले चलाउन नसकेपछि पत्रकार प्रताप बानियाँलाई जिम्मा लगाएको सो सहकारीका कोषाध्यक्षसमेत रहेका पौडेलले बताए। केही वर्ष पहिले २० जनाभन्दा बढी जनशक्ति रहेको बेनीको म्याग्दी काली एफएममा हाल चारजना मात्र कार्यरत छन्। 

तथ्य, तथ्यांक, अध्ययन, अनुसन्धान गरेर समाचार तयार पार्ने, समाजलाई सुसूचित गराउने पत्रकार नहुँदा समाजमा वास्तविक सूचना प्रवाह हुन नसक्ने जोखिम रहेको अग्रज पत्रकार घनश्याम खड्काले बताए।  

‘काठमाडौं, पोखराबाट सञ्चालन हुने सञ्चारमाध्यमले जनशक्ति कटौती गरेका छन्,’ उनले भने, ‘स्रोतको अभावमा जिल्लास्तरका सञ्चारमाध्यम पनि बन्द हुने अवस्थामा पुगेका हुन्।’

युएई जान लागेका पत्रकार खत्रीले पत्रकारिता पेसाबाट धेरै ज्ञान, सीप र अनुभव हासिल गरे पनि यहाँको आम्दानीले भविष्यमा परिवार चलाउन चुनौती हुने देखिँदा केही वर्षका लागि विदेशीन लागेको बताए।  

म्याग्दीका सञ्चारमाध्यम सञ्चालक आबद्ध म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीले सञ्चारमाध्यम र पत्रकार टिकाउने अहिलेको पेसागत मुद्दा रहेको बताए। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today