पर्सामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) र प्रहरी नायब निरीक्षक (सई)को अन्यत्र सरुवा भएपनि रमाना नभएको पाइएको छ। जिल्लामा कार्यरत चार वरिष्ठ सई र तीन सईको अन्य जिल्लामा सरुवा भएपनि रमाना नभएका हुन्।
प्रहरी चौकी परवानीपुरको प्रमुखका रुपमा कार्यरत वरिष्ठ सई गोरखबहादुर शाहीको रुकुम, वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत वरिष्ठ सई दिपेन्द्र मल्लको सिरहाको कर्मचारी प्रशासन शाखामा सरुवा भएको थियो। यस्तै प्रहरी चौकी अमरपटटीमा कार्यरत वरिष्ठ सई गोपाल कुँवरको नवलपरासी र प्रहरी चौकी जानकीटोलामा कार्यरत वरिष्ठ सई अशोक बस्नेतको चितवनको ईलाका प्रहरी कार्यालय माडीमा सरुवा भएको थियो।यता, प्रहरी चौकी भिस्वामा कार्यरत सई रुद्र भट्ट संघीय प्रहरी कार्यालय जनकपुर, प्रहरी चौकी एकटंगामा कार्यरत सई बच्चा साह सिन्धुलीको ईलाका प्रहरी कार्यालय भिमाद र प्रहरी चौकी छपकैयामा कार्यरत सई राजन खड्का काठमाडौंको ठमेलमा सरुवा भएका थिए।
प्रहरी प्रधान कार्यालय नक्सालले करिब एक महिना अगाडी प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षकहरुको निकालेको सरुवा सूचीमा उनीहरु परेका छन्। तर, विगत लामो समयदेखि अन्य जिल्लाबाट काज सरुवा गराएर पर्सा आएका उनीहरु सरुवा भएपनि यहीँ कार्यरत रहेका प्रहरी स्रोतले जनाएको छ।
स्रोतका अनुसार पर्साका प्रहरी प्रमुख कोमणबिक्रम शाहले सरुवा भएका उनीहरुलाई अन्यत्र रमाना गर्न ईच्छा नदेखाएकाले उनीहरु रोकिएका हुन्। सरुवा भएका केहि वरिष्ठ सई र सईको सरुवा पछि रमाना गर्नुको साटो केहि दिन अगाडी मात्रै प्रहरी चौकीको जिम्मेवारी दिएको बताइएको छ।
प्रहरी महानिरीक्षकको रुपमा बसन्त कुँवर आएदेखि प्रहरीको दरबन्दी भएको स्थानमा स्वतः जानुपर्ने भनिएको थियो। तर, पर्सामा कार्यरत प्रहरीको सरुवा भएपनि यहाँबाट रमाना हुनुको साटो प्रहरी चौकीको जिम्मेवारी पाएका छन्।

