Type Here to Get Search Results !

दसैं संगै मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुन्जिन थाल्यो

 दसैं सुरु भए संगै जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका यस्ता गीतहरु गुन्जिन थालेको छ ।

यति बेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक झाएको छ। जनकपुरधामका मठ मन्दिर र दसैंका लागि बनाइएका भव्य पन्डालमा साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् ।

मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यसको छुट्टै धार्मिक महत्व छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ।

मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार र प्राज्ञ रामभरोस कापडी भन्छन्, “दसैंका बेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्रको अनुष्ठान गर्छन्। र सर्वसाधारणको ज्यान लिन सक्ने खालको शक्ति प्राप्त गर्छन्। त्यसैले यस्तो शक्तिको प्रतिवाद गर्न अर्को तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गरिने गरिएको जनविश्वास रहेको छ। घटस्थापनादेखि सुरु हुने भिझिया नृत्यको तयारी पनि विशेष हुन्छ।”

कापडीले झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्ने बारे जानकारी दिंदै भने, “एउटा वा दुइटा सफा घैंटो किनेर त्यसलाई सफा सुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकामा राखी नृत्य गर्न‘पूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।”

बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्र सहित छेकबार गरिन्छ–

‘सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी बजर बान्हो दशो दुआरी मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।’

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैंटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरे लगत्तै झिझियाको औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घर घरमा गएर नृत्य देखाउने परम्परा रहेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका ६ नयाँटोलका पुरोहित इन्द्रकान्त झाको अनुसार झिझियामा भएको प्वाल तन्त्रमन्त्र गर्ने बोक्सी (डाइन)ले गन्न सफल भइहाले भने उनीहरू तन्त्र सिद्धि गरी निकै शक्तिशाली हुन सक्ने जनविश्वास छ। त्यसैले झिझिया टाउकोमा राखेपछि महिला निरन्तर नाच्छन्। नाच सक्ने बित्तिकै दियो निभाएर झिझिया राख्ने गरिन्छ।

अवकास प्राप्त शिक्षक तथा मैथिली संस्कृती जानकार ८५ वर्षीय महेन्द्रनगरका रमापति चौधरी बताउँछन्, “महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रुपमा लिइन्छ । झिझिया नृत्य घटस्थापना देखि सुरु भई दसैंसम्म प्रदर्शन गरिन्छ। गाउँघरमा भिझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन्।”

प्रत्येकको घरघरमा गई सामूहिक नृत्य गर्ने र त्यहाँबाट घरधनीले कोसेली स्वरूप पैसा वा चामलदाल सहयोग दिने चलन छ। भिझियालाई तन्त्रमन्त्र र जादुटोनाको परिचायक पनि मानिन्छ। तर अन्धविश्वासभन्दा पनि सांस्कृतिक उत्थानका लागि यसको संरक्षण आवश्यक रहेको शिक्षा तथा संस्कृतिविद चौधरी बताउँछन्। “यो मिथिलाको लोक महत्वको नृत्य हो। त्यसैले यसलाई अन्धविश्वासका रूपमा लिनुहुँदैन ।”

यो नृत्य सातौंं शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतका जानकारहरु बताउँछन् । झिझिया नृत्यको महत्वपूर्ण पक्ष यसको गीत हो । यस्तै गीतको धुनसँगै झिझिया नृत्य सुरु हुन्छ ।

दशैंको आगमनसँगै बोक्सीलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया हो । नृत्यसंगै गाइने गीतमा बोक्सीलाई गाली पनि गरिन्छ । बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहेको छ । झिझियालाई आजको दिनमा धार्मिक आस्थासंग जोडेर राख्न असजिलो छ तर यसको लोक सांस्कृतिक पक्षलाई संरक्षण सम्बद्र्धन गर्नु उचित देखिन्छ । यस नृत्यमा बोक्सीलाई गालीका साथै उसलाई धम्क्याउने काम पनि हुन्छ ।

चलचल गे डैनिया कदम तर, तोरा बेटाके खैबौ बढमतर ।

विजया दशमीको आगमनसँगै मिथिलाञ्चलको गाउँ टोलमा झिझिया नृत्य सुरु हुन्छ । मिथिला कला संस्कृतिमा यो नाचको छुट्टै मौलिकता छ । तर पछिल्लो समय यसको मौलिकता हराउँदै गएको स्थानीयबासी बताउँछन् ।

झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ । मिथिला नाट्य कला परिषदले मिनापले नेपाल भारतको विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा लिइने गरेको छ ।

मिथिला नाट्य कला परिषद (मिनाप)ले केही वर्षयता झिझियाको ५ सयभन्दा बढी नृत्य प्रदर्शन गरेको छ । जनकपुरधाम कै देवी चोकमा रहेका राजदेवी युवा क्लबले दसैंको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ ।

दसैंकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ ।

मैथिल संस्कृति, पहिचानका जगेर्ना गर्न तथा प्रचारप्रसार गरी संसारभर पुर्याउने उद्देश्यले नयाँ युवा पिढिलाई जोड्ने प्रयासमा यहि कार्तिक ३ गते नव मिथिला फाउन्डेशनले जानकी मन्दिरको प्रांगनमा साँझ ५ बजे देखि झिझिया नाइट कार्यक्रमको विशेष आयोजना समेत गर्दैछ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today