Type Here to Get Search Results !

१४ मेघावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल

 म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ ।



images

म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गरेको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि उत्पादित विद्युत् आजदेखि केन्द्रीय प्रशारण लाइनमा आबद्ध गराइएको छ ।

आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले सबै परीक्षण सफल भएपछि घारखोलाको विद्युत् दाना सवस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको जानकारी दिए ।

‘बाँध, क्यानल, सुरुङ, पेनस्टक, टर्वाइन, जेनेरेटर, स्वीचार्ड र प्रशारण लाइनलगायत सबै संरचना तथा उपकरणको परीक्षण सफल भएको छ’, इञ्जिनियर बज्राचार्यले भने, ‘१५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ।’

नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा गत असार २६ गतेदेखि आयोजनाले परीक्षण उत्पादन सुरु गरेको थियो ।

अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोलाको विद्युत् गृहबाट आठ किलोमिटर लामो प्रशारण लाइनमार्फत दुई सय २० केभी क्षमताको दाना सवस्टेसनमा लगेर जोडेको हो ।

कालीगण्डकी करिडोर प्रशारण लाइनअन्तर्गतको दाना सवस्टेसनमा यसअघि ४२ मेघावाटको मिस्त्रीखोला र १३ मेघावाटको थापाखोलाको विद्युत् राष्ट्रिय प्रशारणमा जोडिएका थिए ।

घारखोलाको विद्युत् गृहदेखि सवस्टेसनसम्म जोड्ने प्रशारण लाइनमा समस्या देखिएपछि परीक्षण अवधि लम्बिएको हो ।

अन्नपूर्ण गाउँपालिका-५ कुरिलाखर्कमा बाँध बनाइ घारखोलाको पानी तीन हजार पाँच सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका, ६ अमिलाकाफलस्थित आउटलेटबाट एक हजार दुई सय मिटर पेनस्टक पाइपमा चार सय ८५ मिटर हेडबाट बेनी-जोमसोम सडक छेउको पोखरेबगरमा रहने विद्युत् गृहमा खसालिएको छ ।

दुई अर्ब ४१ करोड लागत अनुमान गरिएको आयोजना २०७४ चैतदेखि निर्माण थालिएको थियो । २०७८ मा सक्ने लक्ष्य रहेपनि कोरोना, पहिरो, सडक यातायातको असुविधा लगायतका कारणले निर्माण अवधि दुई वर्ष लम्बिएको प्रवर्द्धकले बताएका छन ।

इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इण्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत् गृहमा उपकरण जडान गरेका हुन ।

सिभिल ठेकेदार साउथ एशियन इन्फास्टक्चरले भौतिक संरचना निर्माण गरेको हो । विद्युत् गृहको नजिकै स्वीचार्ड बनाइएको छ ।

आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन । नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन ।

आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवर्द्धकले बताएका छन । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today