Type Here to Get Search Results !

सुनसान चितवनका पसल

 अर्थतन्त्र चलायमान हुन नसक्दा चितवनका कपडा पसलमा सेवाग्राहीको उपस्थिति न्यून भएको छ ।




शहरी क्षेत्रमा महँगो भाडा तिरेर पसल गरेका व्यवसायी पसल बन्द गर्ने स्थितिमा पुगेका छन । भाडा तिर्नसमेत आम्दानी हुन छाडेपछि व्यापारी चिन्तत छन् ।

‘विगतमा यहाँका पसलमा जाँदा पसलेलाई बोल्ने फुर्सदै हुँदैन्थ्यो, प्रायः पसले व्यापार गर्नको हतारमै हुनुहुन्थ्यो’, कपडा व्यवसायी संघ चितवनका कार्यालय सचिव वासु दवाडीले भने, ‘हिजोआज जुन कपडा पसलमा गए पनि सुनसान छन् ।’

दवाडीले संघको कार्यालय सचिवको जिम्मेवारी बहन गर्नुका साथै नारायणढका केही कपडा पसलको लेखापालको समेत काम गर्छन् । सचिव दवाडीले भने, ‘जुनसुकै समयमा पनि ग्राहकको भीड हुन्थ्यो, कपडा किन्न आउनेहरु पसलमा टुट्दैनथे, तर हिजोआज जताततै सुनसान छ ।’

उनले पहिला दैनिक हिसाब राख्ने पसलले पछिल्लो समय दुई चार दिन बिराएर  हिसाब राख्न बोलाउने गरेको उनको अनुभव छ । कपडा व्यवसायी संघका अध्यक्ष गुणराज पौडेल आफूले व्यापार सुरु गरेको २० वर्षमा यस वर्षजस्तो मन्दि कुनै वर्ष पनि नभएको बताए ।

अध्यक्ष पौडेलले भने, ‘संघमा एक सयभन्दा बढी व्यवसायी आवद्घ हुनुहुन्छ, सबैको हालत उस्तै छ, कसैको पनि व्यापार छैन ।’ आम उपभोक्तामा क्रयशक्ति घट्नु, जग्गाको कारोबार नहुनु र कोभिडको असर हाल आएर देखापर्नुले गर्दा यस्तो भएको पौडेलको बुझाइ छ।

विगतका वर्षमा यही समयमा दैनिक एक लाख ५० हजारभन्दा बढीको व्यापार हुने कपडा पसलमा अहिले ७५ प्रतिशतले गिरावट आएको अध्यक्ष पौडेलको भनाइ छ । ‘बजार सुनसान छ समय कसरी बिताउने भन्ने स्थिति आएको छ’, अध्यक्ष पौडेलले भने, ‘यही अवस्था रहेमा पसल नै बन्द गर्ने स्थिति नआउला भन्न सकिन्न ।’

नारायणगढको शहीदचोकमा विगत २३ वर्षदेखि कपडा व्यवसाय गर्दै आएका नीरजकुमार श्रेष्ठ नारायणगढ हुँदै जाने पूर्व–पश्चिम राजमार्ग मर्मतको काम भइरहकाले पनि सेवाग्राहीलाई समस्या भएको बताए ।

सडक विस्तारसँगै सवारी पार्किङको अभाव हुँदा नारायणगढ बजारमा सेवाग्राही आउँनै छाडेको उनले जनाए । ‘आर्थिक मन्दिको असर त छँदैछ मलमासले पनि यस समयमा व्यापार हुनसकेको छैन’, श्रेष्ठले भने, ‘चाडपर्व आएपछि केही सुधार हुने आश छ ।’

कपडा व्यवसायी संघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले केही व्यापारी बजारबाट गाउँ उन्मुख भएको बताए । उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ आर्थिक विषम परिस्थितिमा व्यवसायीलाई टिकाइराख्न आफूहरु लागि परेको बताए ।

चितवनमा मात्र नभएर यो समस्या देशभरकै भएको जनाउँदै यसको दीर्घकालीन समाधानका लागि उनले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल भइरहेको जनाए ।

बैंकको चर्को ब्याजले पनि व्यवसायीलाई मर्का परेको जनाउँदै उनले एकल अंकको ब्याज भएमा व्यवसायीलाई राहत हुने बताए । अध्यक्ष श्रेष्ठले भने, ‘यो समग्र अर्थतन्त्रको समस्या हो, राज्यले सम्बोधन गर्नुपर्छ ।’

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today