- घरमा अभिभावकले पढाइमा ध्यान नदिने, विद्यार्थी मोबाइलमा व्यस्त रहेपछि विद्यालयको निकालेको जुक्ति
अर्घाखाँची —स्कुलको कक्षाकोठाभित्र चकटी, सुत्ने बिस्तरा र कापी किताबका चाङ । कपडाको झोला, पानी खाने गिलास र भात खाने थाल पनि छन् । कक्षाकोठाबाट डेस्क-बेन्च हटाइएको छ । त्यही ठाउँमा राखिएको खाटमा बसेर विद्यार्थी पढ्न र लेख्न व्यस्त छन् ।
मालारानी गाउँपालिका–९ गोखुंगा सिमे देउरालीस्थित सूर्य माविका ४८ विद्यार्थी मंसिर १० देखि स्कुलमै बास बसेर एसईईको तयारी गरिरहेका छन् । उनीहरुले घरबाटै विस्तरा ल्याएर स्कुलमा बस्न आएका हुन् । उनीहरु सामूहिक रुपमा सुत्छन्, बिहान ४ बजे उठ्छन् । 'फ्रेस' भएपछि कापीकिताब समात्छन् । खाटमै बसेर पौने ६ बजेसम्म पढ्छन् ।
उनीहरुसँग कुनबेला के पढ्ने भन्ने तालिका पनि छ । जस्तो, बिहान ६ देखि ९ सम्म अंग्रेजी, गणित र विज्ञान विषय गुरुसँग पढ्छन् । १० देखि ४ बजेसम्म कक्षाको रुटिनअनुसार पढाइ हुन्छ । दिउँसो सवा ४ देखि साढे ७ बजेसम्म फेरि गणित विषय पढ्छन् । १० बजेसम्म अरु विषयको तयारी गरेपछि एकदिनको तालिका पूरा हुन्छ । त्यसपछि उनीहरु सुत्छन् ।
बिहान चियापानी, साढे ९ बजे खाना, दिउँसो १ बजे खाजा र बेलुका साढे ७ बजे खाना खाने समय निर्धारण गरिएको छ । शिक्षक-विद्यार्थी सामूहिक खाना खान्छन् र सबैले आआफ्ना थाल आफै माझ्छन् ।
विद्यार्थीसँग विद्यालयका प्रधानाध्यापक डुकप्रसाद पौडेलसहित विषयगत ७ जना शिक्षक राति स्कुलमै बस्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्री खाद्यान्य, तरकारी, पानी, दाउराको बन्दोबस्त, विद्यार्थीको रेखदेखदेखि सबै व्यवस्थापनको काममा खटिएका छन् । एसईई चैत ७ गतेदेखि सञ्चालन हुँदै छ ।
यसरी विद्यार्थीलाई स्कुलमै बसालेर पढाउनुको उद्देश्य एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु रहेको प्रअ पौडेलले बताए । ‘गतवर्ष एसईईको रिजल्ट राम्रो आएन,’ उनले भने, ‘घरमा पनि अभिभावकले पढाउन नसक्ने, विद्यार्थी घरको काममा र मोबाइलमा व्यस्त हुँदा परिणाम झन बिग्रने अनुमान गर्यौं । त्यसपछि विद्यार्थीलाई स्कुलमै आवासीय बढाउन थाल्यौं ।’ यसरी पढाउँदा कमजोर विद्यार्थीको पढाइ राम्रो हुँदै गएको उनले बताए ।
मंसिरमा विद्यालय व्यवस्थापन समिति, वडाध्यक्ष, शिक्षकसहितको बैठकले आवासीयमै पढाउने निर्णय गरेको थियो । एसईईमा फेल भएपछि विद्यार्थीले फेरि परीक्षा नदिने र वैदेशिक रोजगारतिर लाग्ने समस्या भयो । 'पढेर नेपालमै बसेर कर्मचारी, शिक्षक, डाक्टर, वकिलसहित देशको उच्च तहमा पुगून्, बिजनेस, उद्योगपति बनून् भन्ने उद्देश्यले विद्यार्थीको भविष्यकै लागि आवासीय पढाइ सञ्चालन गरिएको हो,' प्रअ पौडेलले भने ।