महोत्तरी जिल्लाको जलेश्वर न.पा. वडा नं. ०२ स्थित प्रादेशिक अस्पताल जलेश्वरमा एक कार्यक्रमका बीच अस्पताललाई अत्यावश्यक श्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ। प्रादेशिक अस्पताल जलेश्वरको आयोजनामा तथा Helping Hands र Helping Heart संस्थाको सहकार्यमा सम्पन्न यो विशेष कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिनु झाको अध्यक्षता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरद सिंह भण्डारीले अस्पताललाई अस्पताल प्रयोजनका लागि विभिन्न प्रकारका अत्याधुनिक उपकरण
सहितका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा उहाँले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथिका रूपमा उपस्थित माननीय सांसद जाउल राइन, जिल्ला समन्वय समितिका सभापति सुमन लाल कर्ण, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारि, जलेश्वर न.पा. प्रमुख सुरेश साह सोनार, मटिहानी न.पा. प्रमुख हरि प्रसाद मण्डल लगायत विभिन्न संघ-संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
करिब ६०/७० जनाको सहभागिता रहेको यस कार्यक्रममा अस्पतालको भौतिक पूर्वाधार र सेवा विस्तारका लागि यस प्रकारका सहयोगले महत्वपूर्ण योगदान पुर्याउने आयोजकहरूको भनाइ छ।




