नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा जनकपुरमा आयोजित जय ट्रफी पुरुष एलिट कपको दुई दिवसीय खेलमा मधेस प्रदेश र बागमती प्रदेशबिचको भिडन्त रोमाञ्चक बराबरीमा टुङ्गिएको छ । रामजानकी बहुउद्देश्यीय क्रिकेट मैदानमा सम्पन्न यस खेलमा बागमतीले १६४ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाउँदा अम्पायरले खेल समाप्त भएको घोषणा गरे। यससँगै खेलले नतिजा पाउन सकेन ।
जितका लागि सुरुआती आक्रामक खेल प्रदर्शन गरेका बागमतीका ओपनरहरूले केही झिल्को देखाए पनि टोलीले त्यो लयलाई अन्तिमसम्म टिकाउन सकेन । रित गौतमले १८ बलमा २५ रन बनाउँदै टिमका लागि सर्वोच्च स्कोर बनाए । अर्का ओपनर आशुतोष घिरैयाले २७ बलमा चार चौकासहित १७ रन जोडे। पहिलो विकेटका लागि यी दुईले ६.५ ओभरमा ४७ रनको साझेदारी गरे। शुभ कंशाकारले २१ बलमा पाँच चौका प्रहार गर्दै २३ रनको योगदान दिए, भने प्रतिश जिसीले १६ रन बनाए ।
मधेसका कप्तान हरिशंकर साहले तीन विकेट लिएर उत्कृष्ट बलिङ प्रदर्शन गरे। रुपेश सिंह, अभिषेक तिवारी, र रञ्जित कुमारले समान एक-एक विकेट लिए ।
यसअघि मधेसले दोस्रो इनिङमा ४३.२ ओभरमा ९ विकेट गुमाउँदै २११ रन बनाएपछि कप्तान हरिशंकरले इनिङ समाप्त भएको घोषणा गरेका थिए । मधेसका ओपनर मयनले प्रतियोगितामा पहिलो शतक प्रहार गर्दै १०८ बलमा १२ चौका र दुई छक्कासहित १०६ रन बनाए। उनी पभेलियन फर्किँदा मधेसको स्कोर ३४.६ ओभरमा ६ विकेट गुमाएर १८२ रन थियो ।
बागमतीका कप्तान सन्दीप लामिछानेले मधेसको दोस्रो इनिङमा पनि पाँच विकेट हात पारे। सन्दीपले १७ ओभरमा एक मेडनसहित ८८ रन खर्चेर उत्कृष्ट बलिङ गरे । पहिलो इनिङमा पनि उनले पाँच विकेट लिएका थिए। सूर्य तामाङले दुई विकेट लिए भने रिजन ढकाल र नन्दन यादवले समान एक विकेट झारे ।
मधेसले पहिलो इनिङमा केवल १०२ रन बनाउँदा बागमतीले १५० रन जोडेको थियो । पहिलो इनिङको प्रदर्शनपछि मधेसले दोस्रो इनिङमा बलियो वापसी गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाएको थियो ।
प्रतियोगिताको अर्को चरणमा मधेस बुधवार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने बागमती त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्नेछ ।
जय ट्रफीले नेपाली क्रिकेटमा घरेलु स्तरको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । यस प्रतियोगिताले युवा खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दछ ।