Type Here to Get Search Results !

धनुषा र महोत्तरीका ३६ जनाले लिए सर्प व्यवस्थापनसम्बन्धी तीनदिने तालिम

 

तलिममा सहभागी वकिल मुखियाका अनुसार अब मानिस र सर्प दुवैलाई कसरी व्यवस्थापन गर्ने भन्ने जानेको बताए। उनले भने, ‘सर्पकै टोकाइबाट समयमै उपचार नपाई मर्नेहरू मैले धेरै देखेको छु। कोही समयमै उपचारको लागि अस्पताल नपुग्दा त कोही अस्पताल पुग्नुपर्नेमा धामी र झाँक्रीको भर पर्दा मर्नेहरू देखेँ। अब यस्तो अवस्था आउनेछैन।’

तालिमबाट कुन सर्पले टोकेको हो? त्यो सर्पले टोक्दा विष लाग्छ वा लाग्दैन? लागि हाले कति समयभित्र अस्पताल पुर्‍याइसक्नुपर्छ र अस्पताल पुर्‍याउनुअघिका प्राथमिक उपचार के हुन्? भन्ने ज्ञान पाएको उनले बताए। जलेश्वर नगरपालिका–९, फुल्हट्टानिवासी समाजसेवी तथा युवा अभियन्ता वकिल मुखियाले भने, ‘यो विषयमा ज्ञान नहुँदा प्रायः धेरैले मृत्युवरण गर्नुपरेको मेरो अनुभव छ। तर, अब भने घरमै सर्प पसिहाले सर्प र मानव दुवैलाई कसरी सुरक्षित गर्ने? भन्ने जानकारी पाएको छु। सर्प र मानव दुवैलाई सुरक्षित गर्न सक्ने तरिका सर्प व्यवस्थापन तालिममा सिकेको छु।’ 

प्रशिक्षकहरू रोहित गिरी, सुबोध आचार्य र देवनारायण मण्डलले सर्पको पहिचान, सर्पबाट पर्यावरणमा पुग्ने फाइदा, सर्पबाट बच्ने उपाय, सर्पले टोकिहाले गरिने प्राथमिक उपचार तथा सर्पसँग मानव र मानवसँग सर्पको सुरक्षालगायत विषयमा उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षित गरिएको हो। 

मिथिला वाइल्ड लाइफ ट्रस्टका फाउन्डर तथा प्रशिक्षक देवनारायण मण्डलले तीनदिने तालिम लिएका प्रशिक्षार्थीले आगामी एक महिना समुदायमा रहेर तालिममा सिकेका सर्पबारे जानकारी साझा गर्ने बताए। उनले सोही अवधिमा कतै सर्प फेला परे मिथिला वाइल्ड लाइफ ट्रस्टमा जानकारी गराउने तथा जानकारीपश्चात सर्प उद्धारकर्ता पुग्दा उनीसँगै सर्प उद्धार गर्न थप प्रशिक्षित हुने बताए।

अहिले पहिलो चरणमा सिद्धान्त र सामान्य जानकारी मात्र दिइएको छ। फाउन्डर तथा प्रशिक्षक मण्डलले ३६ जना प्रशिक्षार्थीमध्ये धेरैमा आफूले कुशल सर्प उद्धारकर्ता बन्न सक्ने सम्भावना देखेको बताए। आगामी दिनमा उनीहरूले समुदायमा धेरै व्यक्तिसँगै पर्यावरणमित्र सर्पको रक्षा गर्नसमेत सक्षम हुने बताए।
 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today