Type Here to Get Search Results !

वीरगञ्जमा मनाइयो राष्ट्रिय धोती दिवस : संस्कृति बचाउन आफैँ संस्कारी बन्नुपर्नेमा जोड

 


आफ्नो भाषा, संस्कार, र पहिचान जोगाउन समाजका हरेक सदस्यले आफैँ संस्कारी बन्ने प्रयास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाद्वारा स्थापना गरिएको भोजपुरी प्रतिष्ठान वीरगञ्जले राष्ट्रिय धोती दिवसका अवसरमा आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले आफ्नो विचार व्यक्त गरेका हुन् ।

कक्षा ९ र १० का विद्यार्थीहरू सहभागी उक्त कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थ माविका प्रधानाध्यापक विनोद मेहताले आफ्नो भाषा, संस्कृतिको जगेर्नाका लागि सिर्जना र कला मार्फत योगदान दिनुपर्ने कुरामा जोड दिए । “हाम्रा पुर्खाहरूले दिएका संस्कार र संस्कृति बिर्सनु हुँदैन । भाषा र संस्कृतिलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो,” उनले भने।

कार्यक्रमका वक्ता वरिष्ठ साहित्यकार प्रमोद पाण्डेले मातृभाषा भोजपुरी बोल्न लाज मान्न नहुने बताउँदै भने, “सबै भाषा सिक्नु राम्रो हो तर मातृभाषा बोल्न लज्जा महसुस गर्नु हुँदैन । धोती लगाउनु त हाम्रो पहिचान र गौरव हो ।”

प्रतिष्ठानका सल्लाहकार पाण्डेले आफ्नो अङ्ग्रेजी व्याकरण पुस्तक देशका धेरै ठाउँमा पढाइने उल्लेख गर्दै पनि आफ्नो मातृभाषा र संस्कृतिप्रतिको लगाव कहिल्यै घट्न नदिएको कुरा साझा गरे ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारिणी सदस्य आमोद गुप्ताले धोती पहिरनको महत्त्वबारे कविता र गीतमार्फत सन्देश दिनुका साथै विद्यार्थीलाई धोती लगाउने तरिका प्रत्यक्ष प्रदर्शनसमेत गराए ।

प्रतिष्ठानकी अध्यक्ष अनिता साहले कार्यक्रममा गजल र कवितामार्फत धोती दिवसको उद्देश्य स्पष्ट पारिन् । उनले आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा सिद्धार्थ माविका शिक्षकहरू, विद्यार्थीहरू, प्रतिष्ठानका सदस्य, र स्थानीय अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन् भने सहजीकरण श्याम सरार्फ र अमित अग्रवालले गरेका थिए ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today