
जनकपुरधाम-
तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो
बरहम बाबा झिझिया पर होइयौ ने सवार
अबोधबा बालक तोहर किछियो ने जनैछौं हो…
दसैं सुरु भए संगै जनकपुरधाम सहित सम्पूणर् मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका यस्ता गीतहरु गुन्जिन थालेको छ ।
यति बेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक झाएको छ। जनकपुरधामका मठ मन्दिर र दसैंका लागि बनाइएका भव्य पन्डालहरुमा प्रत्येक साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् ।
मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यसको छुट्टै धार्मिक महत्व छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ।
मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउनुहुन्छ, “दसैंका बेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्रको अनुष्ठान गर्छन्। र सर्वसाधारणको ज्यान लिन सक्ने खालको शक्ति प्राप्त गर्छन्। त्यसैले यस्तो शक्तिको प्रतिवाद गर्न अर्को तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गरिने गरिएको जनविश्वास रहेको छ। घटस्थापनादेखि सुरु हुने भिझिया नृत्यको तयारी पनि विशेष हुन्छ।”

कापडीले झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्ने बारे जानकारी दिंदै भन्नुभयो, “एउटा वा दुइटा सफा घैंटो किनेर त्यसलाई सफा सुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । घैंटोमाथि बल्दै गरेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन हो। यस्तो प्रदर्शन झिझिया नृत्यमा हुन्छ। तर, टाउकामा राखी नृत्य गर्न‘पूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।”
बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्र सहित छेकबार गरिन्छ-
‘सभ्य गुरुक बन्दे पाउँ ।
बजर केवाडी बजर बान्हो दशो दुआरी मटिया बान्हो,
मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।’
यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैंटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरे लगत्तै झिझियाको औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घर घरमा गएर नृत्य देखाउने परम्परा रहेको छ ।
कुनैकुनै बेला ताली बजाउँदै टाउको तल ल्याउँछन्, फेरि ताली बजाउँदै यथास्थानमा राख्छन्। घैंटामा बलिरहेको दियोको मधुरो प्रकाश, मुहानमा दन्किरहेको आगो, तालमा नाचिरहेकी कुनै महिला र झुन्डमा गीतको लहरीले अद्भूत वातावरणको निर्माण हुन्छ र महिलाहरू लोक अनुष्ठानमा सुर बिर्सेर तल्लीन हुन थाल्छन्।
क्षीरेश्वरनाथ नगरपालिका ६ नयाँटोलका पुरोहित इन्द्रकान्त झाको अनुसार झिझियामा भएको प्वाल तन्त्रमन्त्र गर्ने बोक्सी (डाइन)ले गन्न सफल भइहाले भने उनीहरू तन्त्र सिद्धि गरी निकै शक्तिशाली हुन सक्ने जनविश्वास छ। त्यसैले झिझिया टाउकोमा राखेपछि महिला निरन्तर नाच्छन्। नाच सक्ने बित्तिकै दियो निभाएर झिझिया राख्ने गरिन्छ।
अवकास प्राप्त शिक्षक तथा मैथिली संस्कृती जानकार तथा पुरोहित लालबाबु झा बताउनुहुन्छ, “महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रुपमा लिइन्छ । झिझिया नृत्य घटस्थापना देखि सुरु भई दसैंसम्म प्रदर्शन गरिन्छ। गाउँघरमा भिझियामा १५-२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन्।”
प्रत्येकको घरघरमा गई सामूहिक नृत्य गर्ने र त्यहाँबाट घरधनीले कोसेली स्वरूप पैसा वा चामलदाल सहयोग दिने चलन छ। भिझियालाई तन्त्रमन्त्र र जादुटोनाको परिचायक पनि मानिन्छ। तर अन्धविश्वासभन्दा पनि सांस्कृतिक उत्थानका लागि यसको संरक्षण आवश्यक रहेको शिक्षा तथा संस्कृतिविद डा. राजेन्द्र बिमल बताउनुहुन्छ, “यो मिथिलाको लोक महत्वको नृत्य हो। त्यसैले यसलाई अन्धविश्वासका रूपमा लिनुहुँदैन ।”
यो नृत्य सातौंं शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतका जानकारहरु बताउँछन् । झिझिया नृत्यको महत्वपूणर् पक्ष यसको गीत हो । यस्तै गीतको धुनसँगै झिझिया नृत्य सुरु हुन्छ ।
नृत्यसँगै गाइरहने गीतमा बोक्सीलाई गाली गर्ने गरिन्छ। बोक्सीलाई गाली गर्नाले उनीहरूको मारक क्षमतामा कमी आउने र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहिआएको छ। समाज रूपान्तरणसँगै लोकनृत्यहरू लोप हुँदै जान थालेका छन्।
चलचल गे डैनिया कदम तर, तोरा बेटाके खैबौ बढमतर ।
अहिले स्थानीय सरकारहरू यसलाई जीवन्त राख्न झिझिया नृत्यको आयोजना गरिरहेका छन्। विगतका दशकमा मधेस क्षेत्रमा बोक्सी प्रकरण व्यापक हुने गरे पनि पछिल्लो समय तुलनात्मक कम भए पनि निमिट्यान्न भने हुन सकेको छैन। यस झिझिया नाचको उद्देश्य देवी दुर्गाको उपासना पनि हो। झिझिया नाच्दै गाइने गीतमा बोक्सीलाई गाली गरी भगवती दुर्गाको स्तुति गाइएको हुन्छ।

विजया दशमीको आगमनसँगै मिथिलाञ्चलको गाउँ टोलमा झिझिया नृत्य सुरु हुन्छ । मिथिला कला संस्कृतिमा यो नाचको छुट्टै मौलिकता छ । तर पछिल्लो समय यसको मौलिकता हराउँदै गएको स्थानीयबासी बताउँछन् ।
झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ । मिथिला नाट्य कला परिषदले मिनापले नेपाल भारतको विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा लिइने गरेको छ ।
मिनापले केही वर्षयता झिझियाको १ हजार भन्दा बढी नृत्य प्रदर्शन गरेको छ । जनकपुरधाम कै देवी चोकमा रहेका राजदेवी युवा क्लबले दसैंको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ ।
दसैंकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ ।
र अन्धविश्वासलाई बढावा दिएको आरोप पनि
समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइनी बोक्सी महिला जादु मन्त्र सिकेर, त्यसको सिद्धिका लागि गाउँका नवजात बालबालिकालाई कुनै करणीद्वारा मारेर मसानमा त्यहीं मरेको बच्चालाई जिउँदो पारी नांगै नृत्य गर्छ।
विजयादशमीको अवसरमा यस्ता घटनामा वृद्धि हुन थालेपछि महिलाहरूले नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्न बोक्सीहरूको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको लोक भनाइ छ।
झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु रहेको छ। यसको बनावट र स्वरूपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ।
झिझिया नृत्य अन्धविश्वास भन्नेहरू पनि प्रशस्त छन्। मानवअधिकारकर्मी इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान भन्छन्, “झिझियाको गीत र नृत्यले समाजमा बोक्सी र धामी रहेको मान्यता स्थापित गर्छ। समाजमा बोक्सी र धामी छ भन्ने भाष्य निर्माण गर्नु विडम्बनापूणर् रहेको उनी बताउँछन्।”

संस्कृति भनेको सामूहिक जीवनपद्धति हो। यो सामूहिक जीवनपद्धति मानवअधिकार र अन्यायपूणर् छ भने यसलाई संशोधन वा खारेज गर्नुपर्ने उनको विचार छ। एक शताब्दीअघिसम्म सती प्रथा संस्कृति कै रूपमा थियो। तर यो साह्रै अमानवीय थियो। जुन बदर भयो। झिझिया गीत र नाचको सीधा सन्देश हो, समाजमा बोक्सी हुन्छ।
‘अहिले लोकनृत्यका नाममा झिझिया नाच नचाइँदैछ। यो निकै घातक छ। बोक्सीका नाममा धेरै महिलालाई मलमूत्र घोलेर खुवाइएको छ। यस्तो परिस्थितिमा समाजलाई झन् वैज्ञानिकीकरण गर्नुपर्ने, सकारात्क सन्देश दिनुपर्ने ठाउँमा अन्धविश्वासको शिक्षा फैलाइँदैछ, अधिकारकर्मी पासवान भन्छन्, ‘झिझिया नाचलाई लोकनृत्यका नाममा संरक्षण गर्नु अत्यन्त दुःखद छ।’
पासवान भन्छन्, ‘बोक्सी हुन्छ, धामी हुन्छ भन्ने मान्यतालाई चेतनाकरण गरिँदैछ। गरिनु के पथ्र्यो भने लोकनृत्यको नाममा झिझिया नाच नचाउँदा समाजमा धामी हुँदैन, बोक्सी हुँदैन, यी सब अन्धविश्वास हुन भन्ने चेतना फैलाइनुपथ्र्यो, उनले भने।
