महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका– २ मदरसा टोल (पुरानो माछाबजार) स्थित विपति साहको घरमा सटर भाडा लिएर सञ्चालनमा रहेको खुस्बु टेन्ट हाउसको स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ। शुक्रबार अपराह्न करिब १२ बजे भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीयहरूको अथक प्रयासपछि नियन्त्रणमा आएको छ ।
आगलागीलगत्तै घटनास्थलमा आइपुगेको जलेश्वर नगरपालिकाको वारुण यन्त्र अपर्याप्त भएपछि थप मद्दतका लागि मटिहानी नगरपालिका र रामगोपालपुर नगरपालिकाबाट समेत वारुण यन्त्र ल्याइएकाे थियाे । खुस्बु टेन्ट हाउसका सञ्चालक अरविन्द साहका छोरा सत्यम साहले आगलागीको कारणबारे जानकारी नभएको बताए । उनले करिब ११:३० सम्म सबै सामान्य नै रहेको र टेन्ट हाउसको पछाडिको जग्गामा सामानहरू राखेकोमा उतैबाट आगो देखिएको बताए । उनले टेन्टमा पाँच थान ग्यास सिलिन्डरसमेत भएको बताउँदै सोहीमध्ये दुई सिलिन्डर पड्किएपछि आगलागीले उग्र रूप लिएको बताए ।
यता आगलागीको जानकारी पाएलगत्तै अवस्था बुझ्न जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल र डिएसपी सन्तुलालप्रसाद जयसवार उपस्थित भएका थिए । क्षतिको विवरण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।






