नेपालले सोमबार बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि र सेनाले सरकार लिएपछि उत्पन्न घटनाक्रमबारे बुधबार चासो व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा बंगलादेशमा लोकतान्त्रिक प्रक्रियामा जोड दिँदै संयमता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ।
‘बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ, ‘बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएका घटनाक्रमहरूप्रति हामी गहिरो चिन्ता व्यक्त गर्दछाैँ। मृतकहरूको परिवारजनमा हामी गहिरो समवेदना व्यक्त गर्दछौँ। र, सबै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ।’
नेपालले सबैलाई शान्ति र संयमका लागि आह्वानसमेत गरेको छ। ‘हामी लोकतान्त्रिक प्रक्रियामा जोड दिँदै सबैलाई शान्ति र संयमका लागि आह्वान गर्दछौँ। हामी विश्वस्त छौँ कि बंगलादेशका साहसी र उदार जनता शान्ति र स्थिरतातर्फको सहज राजनीतिक संक्रमण सुनिश्चित गर्न सक्षम हुनेछन्,’ परराष्ट्रले भनेको छ।


