सल्यानबाट गत आर्थिक वर्षमा तीन करोड रुपैयाँभन्दा बढीको खोटो निकासी भएको छ। जिल्लाका विभिन्न सामुदायिक वनबाट तीन करोड १७ लाख ७० हजार रुपैयाँको खोटो निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार आ.व. ०८०/८१ मा दुई हजार ५४२ मेट्रिकटन खोटो निकासी भएको छ। जसबाट विभिन्न सामुदायिक वनको खातामा दुई करोड २६ लाख ९३ हजार रुपैयाँ जम्मा भएको डिभिजन वन कार्यालय सल्यानका कार्यालय प्रमुख जितेन्द्र महतले जानकारी दिए।
उनका अनुसार जिल्लामा विभिन्न ६ खोटो कम्पनीले काम गर्दै आइरहेका छन्। उनले भने, ‘निकासी भएको खोटोबाट प्रदेश सञ्चित कोषमा ३८ लाख ६० हजार, समूहको खातामा दुई करोड २६ लाख ९३ हजार, निकासी कर १२ लाख ७१ हजार र मूल्य अभिवृद्धि कर ३९ लाख ४६ हजार रुपैयाँ संकलन भएको छ।’
त्यसअघि आर्थिक वर्ष ०७९/८० मा सल्यानका सामुदायिक वनले २६ लाख ९८ हजार पाँच सय ६८ किलो खोटोबाट दुई करोड ७५ लाख २५ हजार ३ सय ९९ रुपैयाँ आम्दानी गरेका थिए। वन समूहहरूले कुल आम्दानीको २५ प्रतिशत रकम वन व्यवस्थापनकै क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था छ।
डढेलो नियन्त्रण, वृक्षरोपण, झाडी सरसफाइ, हाँगा कटानलगायतका कार्यमा लगानी गर्नुपर्ने कार्यालय प्रमुख महतले बताए। १० स्थानीय तह रहेको सल्यानमा ६२३ वटा सामुदायिक वन रहेका छन्।

