Type Here to Get Search Results !

चार वर्षदेखि भन्सार यार्डमै थन्किए महँगा गाडी

 


जेठमा मात्रै विभिन्न नाकाबाट करिब तीन हजार विद्युतीय कार भित्रिएको भन्सार विभागको तथ्यांक छ । मन्दीले पेट्रोल र डिजेलबाट चल्ने कमर्सियल र प्यासेन्जर गाडीको व्यापार ठप्प भए पनि विद्युतीय गाडीको व्यापार भने बढ्दो दरमा रहेको नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीले बताए । इन्जिन गाडीको व्यापारमा कुनै परिवर्तन नआएको उनको भनाइ छ । उनले भने, ‘इन्जिनवाला कारको ७० प्रतिशत र कमर्सियल गाडीको ८० प्रतिशतभन्दा बढी व्यापार डाउन छ ।’ 

व्यवसायीले छुटाए कमर्सियल र साना गाडी 
भन्सार कार्यालयले पटक–पटक ताकेता गरेपछि आयातकर्ताले कमर्सियल गाडी र तिनका चेसिस भने जाँचपास गरेर ल्याइसकेका छन् । यार्डमा लामो समयदेखि पार्किङ गरेर राखेका गाडी छिट्टै जाँचपास गर्न आग्रह गरिएको वीरगन्जका प्रमुख भन्सार प्रशासक पन्थीको भनाइ छ । सोही कारण एक वर्षमा यार्डमा थन्किएका गाडी (कमर्सियल र प्यासेन्जर)को संख्या दुईतिहाइले घटेको छ । अहिले वीरगन्ज, भैरहवा र रसुवा भन्सारमा जाँचपास नगरी राखिएका गाडी एक हजार ३२ छन् । जबकि, ०८० असारमा वीरगन्ज र भैरहवा भन्सारमा मात्रै साढे ३१ सय गाडी थन्किएका थिए । ठूला कमर्सियल गाडी जाँचपास भएपछि यार्ड पनि खाली देखिन थालेका छन् । यसअघि वीरगन्ज आइसिपी टाटा, महिन्द्रा, आइसरलगायत कम्पनीका कमर्सियल गाडी र तिनका चेसिसले भरिभराउ देखिन्थ्यो ।

‘वर्ष दिनअघि आइसिपीमा मात्रै २२ सय वटासम्म गाडी देखिन्थे, अहिले पाँच सय २७ वटा मात्र छन्,’ वीरगन्जका प्रमुख भन्सार प्रशासक पन्थीले भने, ‘यहाँबाट कमर्सियल भेहिकल र चेसिस जाँचपास भइरहेका छन्, अहिले महँगो मूल्य पर्ने प्यासेन्जर कार धेरै छन् ।’ भैरहवा भन्सारबाट पनि धेरै गाडी भन्सार जाँचपास भएर छुटिसकेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले बताए । ‘अहिले भैरहवा यार्डमा जाँचपास नभएका साढे तीन सय नयाँ गाडी होलान्,’ उनले भने, ‘टाटाले अधिकांश गाडी छुटाएर लगिसकेको छ, अब हुन्डाईलगायत केही कम्पनीका गाडी छन् ।’

वीरगन्ज र भैरहवामा सबैभन्दा धेरै टाटाका टिपर, टेलर, ट्रक, ट्यांकर, पिकअप गाडी, चेसिस र प्यासेन्जर कार थिए । अहिले टाटाले वीरगन्ज र भैरहवा दुवै ठाउँमा भएका गाडीहरू अधिकांश जाँचपास गरेर छुटाइसकेको सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले बताए । ‘गाडीको बिक्री बढेर ल्याएका होइनौँ, अहिले पनि बजार ६०–६५ प्रतिशत डाउन छ,’ उनले भने, ‘डिजेल र पेट्रोल गाडीको बिक्री ठप्प छ, अलि–अलि बस, मिनी बस र माइक्रोहरू बिक्री भइरहेका छन् ।’ टाटाको कमर्सियलदेखि प्यासेन्जरसम्म भन्सार जाँचपास गरेर ल्याइसकेको उनले बताए ।  

इभीको बिक्री उत्साहप्रद
पछिल्लो समय नेपालमा इभीको बिक्री उत्साहप्रद देखिन्छ । चालू आर्थिक वर्षको ११ महिनामा २९ अर्ब रुपैयाँबराबरका ११ हजार चार सय ६६ विद्युतीय कार नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ । जसमध्ये इभीमा प्यासेन्जर कार र माइक्रो राम्रो बिक्री भइरहेको सिप्रदीका सिइओ श्रेष्ठको भनाइ छ । भन्सार विभागका अनुसार ५० किलोवाट मोटर क्षमतासम्मका कार, जिप र भ्यान चार हजार तीन सय ४४, ५१ देखि १०० किलोवाटसम्मका ६ हजार आठ सय ८५, १०१ देखि २०० किलोवाटसम्मका दुई सय नौ, २०१ देखि ३०० किलोवाटसम्मका २७ र ३०० किलोवाटभन्दा माथिको एउटा भित्रिएको देखिन्छ ।

नेपालमा चीनमा निर्मित विद्युतीय कारको बाहुल्य छ । यस्तै, भारत, कोरिया, अमेरिका र युरोपमा निर्मित विद्युतीय कार पनि आयात हुन्छन् । भन्सार बढ्ने सुइँको पाएपछि व्यवसायीले बजेटअघि यार्डमा पार्किङ गरेर राखेका धेरै विद्युतीय कार, जिप र माइक्रो छुट्याएको देखिन्छ । 

वीरगन्ज भन्सारका प्रमुख डिलाराम पन्थी भन्छन्– मन्दीले गाडी बिक्री नभएपछि व्यवसायीले यार्डमा असरल्ल छाडेका थिए । हामीले गाडी जाँचपास गरेर लैजान ताकेता गरेपछि बस, ट्रक, टिपर, पिकअप र चेसिसहरू जाँचपास भइसकेका छन् । अझै पनि महँगो मूल्यका कार यार्डमै छन् ।

नाडाका अध्यक्ष करण चौधरी भन्छन्– अहिले विद्युतीय गाडीको बिक्री राम्रै भइरहेको छ । तर, पेट्रोल–डिजेलबाट चल्ने प्यासेन्जर कारको ७० प्रतिशत र कमर्सियल भेहिकलको ८० प्रतिशतभन्दा धेरै व्यापार डाउन छ । अटोमोबाइल क्षेत्रमा मन्दीको प्रभाव कत्ति पनि कम भएको छैन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today