Type Here to Get Search Results !

पूर्वमुख्यसचिव पौडेल संयोजक रहेको सुझाव समितिद्वारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस


 पूर्वमुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा ‘गृह मन्त्रालयअन्तर्गतका निकायका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति’ले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष प्रतिवेदन पेस गरेको छ।

मन्त्रालयअन्तर्गतका निकायका सेवालाई थप प्रभावकारी बनाउन सुझावसहितको प्रतिवेदन तयार पार्न विसं २०८० कात्तिकमा गठित उक्त समितिले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।  उक्त अध्ययन समिति तथा विषयगत उपसमितिलाई प्राप्त कार्यादेश अनुरुप विद्यमान समस्याको पहिचान गरी मन्त्रालयको कार्यसम्पादन क्षमता बढाउन तथा मन्त्रालयले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनका लागि सुझाव दिन समिति बनाइएको थियो।

समितिलाई शान्ति सुव्यवस्था, अपराध अनुसन्धान, सस्थागत पुनसंरचना, कर्मचारीको कार्य क्षमता वृद्धि, कार्य सम्पादन मापन, नीतिगत तथा कानुनी सुधार, मन्त्रालयअन्तर्गतका निकायहरुको संस्थागत सुदृढीकरण, सेवा प्रवाहमा सुधार, विपद् व्यवस्थापन, राष्ट्रिय परिचयपत्र व्यावस्थापन, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण लगायतका विषयहरु समावेश गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो।

सोही कार्यादेश बमोजिम समितिले मन्त्रालय र मातहत निकायको कार्य सम्पादन सुधार गर्न कर्मचारीको कार्य क्षमता तथा वृत्ति विकास र सङ्गठन तथा व्यवस्थापनका विषय समावेश गरिएको यस प्रतिवेदनमा तत्काल र दीर्घकालमा लागू गर्न सकिने कार्य योजनाहरु पनि प्रस्तुत गरिएको जनाइएको छ।

प्रतिवेदन ग्रहण गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कार्यदलले आफूलाई प्राप्त जिम्मेवारीभित्रका विषयमा गहन अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन तयार गरेकोमा धन्यवाद दिए।

उनले प्रतिवेदनका आधारमा गृह प्रशासन सुधारको मार्गचित्र तयार गरिने र सो बमोजिम सुधारका कार्यहरु अघि बढाइने बताए। उनले प्रतिवेदन कार्यान्वयनका क्रममा प्रतिवेदन तयारकर्ता विज्ञहरुको निरन्तर सहयोग आवश्यक हुने र मन्त्रालयलाई आवश्यक परेका बखत विज्ञहरुबाट मन्त्रालयले निरन्तर सहयोग प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today