नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटमाथिको बहसलाई रचनात्मक र विषय केन्द्रित बनाउन सांसदहरुलाई अपिल गरेका छन्।
आइतबारदेखि प्रतिनिधिसभामा सुरु भएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद सापकोटाले यस्तो आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले बजेट प्रणालीमा भएको कर्मकाण्डी विधिलाई परिवर्तन गरेर संसदमा भएको छलफलबाट बजेट संशोधन र परिमार्जन गर्न सक्ने व्यवस्था गरे पनि संसद अवरोधका कारण त्यो अवसर गुमेको उनको भनाइ छ।
संसदमा मुठभेडको स्थितिका कारण नीति तथा कार्यक्रममाथिको बहसमा छुटेको विषयलाई अब बजेटमाथिको छलफलमा समावेश गर्नेगरी बहसलाई रचनात्मक बनाउनुपर्ने सापकोटाले बताए।
‘राजनीतिक घटनाक्रम नयाँ ढंगले अगाडी आयो । संसदमा मुठभेडको स्थिति सिर्जना भयो । र हामीले नीति कार्यक्रममा प्रभावकारी ढंगले बहस छलफल अन्तरक्रिया गर्न पाएनौं,’ उनले भने, ‘म के अपिल गर्न चाहान्छु भने हामीले नीति कार्यक्रममा जुन अवसर प्राप्त गरेका थियौं, त्यसलाई हामीले अचिभ गर्न सकेनौं । त्यो छुटेको विषयलाई बजेटका बारेमा छलफल गर्ने दौरानमा समेत हामी समावेश गर्ने गरी बहसलाई रचनात्मक र विचारलाई विषयवस्तु बनाउनका निम्ति समेत मेहनत गर्नेछौं भन्ने कुरा राख्न चाहान्छु।’

