Type Here to Get Search Results !

गुल्मीको रेसुंगा र अर्जुन क्षेत्रमा भीषण आगलागी

 जिल्लाभर ५१ वनको करिव १५ सय हेक्टर आगोले नष्ट


गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा र अर्जुन क्षेत्रमा भीषण आगलागी भएको छ। रेसुंगामा बिगत १५ दिनदेखि विभिन्न भागमा आगलागी भइरहेको छ । शनिबार दिउँसोबाट लागेको आगोका कारण यज्ञशाला, सिद्ध मन्दिर, रामकुण्ड, एनसेन तथा रेडियो नेपालका टावरहरु जोखिममा परेका छन् । रेसुंगामा खानीगाउँको माथिल्लो क्षेत्रबाट आगो सुरु भएको हो।त्यस्तै पराल्मी जाने सडकतिरबाट पनि आगलागी भएको छ । साउने क्षेत्र, सानो रेसुंगा तलको क्षेत्रमा पहिलेदेखि नै आगलागी भइरको छ । सुरक्षा निकायका टावर, एनसेन, रेडियो, टेलिभिजनका टावर तथा अर्जुन भगवति मन्दिरसहितको पर्यटकीय संरचना भएको अर्जुन क्षेत्रमा दुईदिनदेखि भीषण आगलागी भइरहेको छ । शनिबार राति नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरेपनि नियन्त्रण भएको छैन ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलका अनुसार रेसुंगा क्षेत्रमा आगो नियन्त्रणको प्रयास असफल भइरहेको छ । धेरै ठाउँमा आगो लागेकाले सुरक्षा निकायले मात्रै डढेलो नियन्त्रण गर्ने संभावना छैन । सवैले नियन्त्रणमा सहयोग गर्न पोख्रेलले आग्रह गरे । उनले आगो लगाउनेहरुको सूचना प्रहरीलाई दिन अनुरोध गरे । रेसुंगाको अग्लो स्थानमा दमकललाई पनि आगो नियन्त्रण गर्न अप्ठ्यारो भइरहेको छ। तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग लगभग प्रत्येक वर्ष डढेलोको चपेटामा परेर ध्वस्त हुने गरेको छ। आगोले प्रत्येक वर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख बिरुवा जलेर नष्ट हुने गरेका छन्।

रेसुंगा क्षेत्र, रेसुंगा नगरपालिका र नजिकका पालिकाको पानीको मुख्य स्रोत हो। तर, आगोले पानीका मूलहरूमा समेत असर गर्ने गरेको छ। रेसुंगामा खानीगाउँ, उर्लेनी, भाडगाउँ र पराल्मी क्षेत्रबाट आगो लगाउने गरिएको छ। तर, आगो लगाउने व्यक्तिको पहिचान र कारबाही नहुँदा समस्या वर्षेनी बल्झिने गरेको छ। 

रेसुंगामा ६५ हजार प्रकारका फूल फूल्ने प्रजातिका वनस्पति, एक हजार आठ सय २२ प्रजातिका ढुसी, चार सय ६५ प्रजातिका झ्याउ, छ सय ८७ प्रजातिका एलगी, ६२ प्रजातिका चरा, छ सय ४० प्रजातिका पुतली, एक सय ४७ प्रजातिका घस्रिने जीवजन्तु, ४३ प्रकारका उभयचर, एक सय ४४ प्रकारका माकुराहरू, एक सय ८१ प्रकारका स्तनधारीहरू र अन्य कीटपतंगहरू पाइने जैविक विविधताको धनी रेसुंगामा वर्सेनी लाग्ने आगोले यिनीहरूको अस्तित्वमा संकट परेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए।

भुसालले वर्षेनी आगलागी, वन्यजन्तु शिकार, बोटबिरुवाको विनाश, संरचना ध्वस्त र पुजारीहरु माथि आक्रमण समेत हुने भएकाले प्रहरी बिटको माग गर्दा पनि प्रशासन र सरकारबाट कुनै सुनुवाइ नभएको गुनासो गरे। डिभिजन वन कार्यालय गुल्मीका अनुसार जिल्लाभर ५१ सामुदायिक वनको करिव १५ सय हेक्टर आगोले नष्ट गरेको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today