Type Here to Get Search Results !

गुल्मीमा एकै दिन १३ ठाउँमा आगलागी, ८३ घरगोठ र ७५ चौपाया जले

 

शनिबार जिल्लाका १३ ठाउँमा भएको आगलागीबाट ८३ घरगोठ जलेका छन् भने ७५ पशु चौपाया मरेका छन् । त्यस्तै एउटा ट्याक्टर, दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल, एउटा मन्दिर पनि जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका-२ हाडीखोला, वडा नम्बर ४ को कोटकोटरी र मुर्किना, गुल्मीदरबार गाउँपालिका-६ भलायचौर, मुसिकोट नगरपालिका-५ आँपचौर र अर्लाङ्कोटमा शनिबार आगलागी भएको थियो ।

त्यस्तै मालिका गाउँपालिका-१ म्यालचौर, मदाने गाउँपालिका-१ घडेरी, छत्रकोट गाउँपालिका-१ हुँगा, धुर्कोट गाउँपालिका-६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र गाउँपालिका- १ भटकुवामा पनि शनिबार नै आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार इस्माको सिदुङ्खा, कोटकोटरी र हाडीखोलामा आगलागीले बढी क्षति पुर्‍याएको छ ।

सिदुङ्खामा मात्र १३ घर र २५ वटा गोठ गरी ३८ घरगोठ जलेका छन् । घरगोठ जलेपछि स्थानीय बासिन्दा खुला आकाशमुनि बस्न बाध्य छन् । मरेका पशुचौपायाको व्यवस्थापन पनि हुन सकेको छैन ।

इस्मामा शनिबार दिउँसो आगलागी हुँदा धेरै गाउँले एउटा विवाहको भोजमा सहभागी थिए । स्थानीय बसुन्धरा कुँवरको पसलमा भएका सबै सामान र पशु चौपाया जलेका छन् । ‘आगलागी हुँदा घरमा एक्लै थिएँ’, उनले भनिन्, ‘घरको सामान झिक्नभन्दा ज्यान बचाउन लगियो ।’

१५ वर्षसम्म मलेसियामा बसेर कमाएको रकमले घर बनाएका ईन्द्रबहादुर कुँवर भन्छन्, ‘घर जलेपछि कहाँ गएर बस्ने मन जलिरहेको छ ।’ वर्षौं प्रदेशको कमाइ छिन भरमा ध्वस्त भएको उनले बताए ।

आगलागीका कारण गुल्मी गाउँपालिका-२ मा खानेपानीको पाइप पनि जलेको छ । त्यसैले अहिले बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले बताएका छन् ।

बस्ती र जंगले आगोले सखाप बनाएपछि हरिया घाँसपात पनि नभएको स्थानीय बासिन्दाले बताएका छन् । इस्मा गाउँपालिका-१ का वडाध्यक्ष शेरबहादुर कुँवरले केही घाँस संकलन गरेर बस्तीमा लगिएको बताए ।

इस्मा गाउँपालिका-२ का वडाध्यक्ष लोकनाथ आचार्यले आगलागी पीडितका लागि राहत संकलन गरिएको बताए ।

जिल्लामा हरेक हिउँदमा आगलागीका घटना हुने गरे पनि निभाउन भने सहज छैन । जिल्लामै एउटा मात्र दमकल रेसुंगा नगरपालिकासँग छ । एकै समयमा धेरै ठाउँमा आगलागी हुने भएकाले एउटा दमकलले मात्र निभाउन कठिन छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today