औद्योगिक र व्यापारिक विकासका लागि २०२६ सालमा जलेश्वरर नगरपालिकाको भारतीय सिमानामा स्थापित जलेश्वर भन्सारको स्तरोन्नतिको माग गर्दै जलेश्वरर, गौशाला, मटीहानी र बर्दिबासका उद्योगी व्यवसायी, राजनीतिक दलका प्रतिनिधि लगायतको टोलीले शनिवार प्रधामनमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।
तेश्रो मुलुकबाट सामान आयात निर्यात गर्दा कलकत्ताबाट जलेश्वर भन्सारको वीरगंजको भन्दा २२५ किलोमिटर दुरी कम रहेको, प्रदेशको मध्य भागमा रहेको उद्योगी व्यवसायीलाई वीरगंज र विराटनगरबाट ढुवानी लागतभन्दा जलेश्वररबाट कम पर्ने, ठुला भन्सार कार्यालयमा कुनै समस्या आउँदा जलेश्वरलाई वैकल्पिक भन्सारको रुपमा प्रयोग गर्न सक्ने भएकाले जलेश्वरर भन्सारको स्तरोन्नति गरी सुख्खा बन्दरगाह बनाउन माग गरिएको छ । जलेश्वर भन्सार ४.५ विघामा यार्डहरु निर्माण भएको, खाद्य परीक्षण प्रयोगशाला सहितको पुर्वाधार तथा जनशक्ति रहेको र तेश्रो मुलुकबाट आउने कच्चा पदार्थ जलेश्वर भन्सार भएर कम खर्चमा ल्याउन सक्ने भएकोले जलेश्वर भन्सारको स्तरोन्नति गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । मधेश प्रदेशको मध्य भागमा रहेको जलेश्वर भन्सारको पुर्वाधार, जनशक्तिको दृष्टिकोणले वीरगंज भन्सार कार्यालयपछिको ठूलो भन्सार रहेको र यस भन्सार कार्यालयले मधेश प्रदेशसँगै पहाडी जिल्लामा समेत व्यापारिक दृष्टिकोणले महत्वपुर्ण रहेको प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ । भारतको कलकत्तादेखि जयनगरसम्म सञ्चालन भइरहेको रेलमार्ग जयनगर जनकपुर बर्दिबाससम्म संचालन गर्न भारत तथा नेपाल सरकारबाट द्रुत गतिमा कार्य संचालन भइ रेल्वेले अधिग्रहण गरेको जग्गा ५२ विघामा रेल्वे कार्गो व्यवस्थापन सहज तरिकाले संचालन हुने हुँदा जलेश्वर भन्सारको स्तरोन्नतिले व्यवसायीहरुलाई सामान ढुवानी आयात निर्यात गर्न सहज हुने व्यवसायीको भनाइ छ ।





