अर्जुन कार्की, बागलुङ
बागलुङ सुधार केन्द्र र श्री मेहर गण बागलुङमा जारी दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मंगलबारको पहिलो क्वाटरफाइनलमा बागलुङ सुधार केन्द्रले गुठी युनाईटेडलाई पेनाल्टी सुटमा ४–३ ले पराजित गर्यो । निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
पेनाल्टी सुटआउटमा बागलुङ सुधार केन्द्रको लागि अनिल गुरुङ, अभिशेष राना, निशान थापा र मनिष गुरुङले गोल गरे । विदेशी खेलाडी मार्को भेराट्टीको प्रहार गुठीका गोलरक्षक रन्जन खत्रीले रोकेका थिए । गुठीको लागि सन्दिप केसी, अजित गुरुङ र सरोजले गोल गरे । अभिषेक केसी र विष्णु गुरुङको प्रहार बागलुङ सुधारका गोलरक्षक अशोक रेग्मीले जोगाएका थिए ।
अर्को क्वाटरफाइनलमा साविक विजेता नेपाल आर्मीको श्री मेहर गणले म्याग्दी जिल्ला फुटबल संघलाई २–१ ले हराउको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा म्याग्दी पराजित हुन पुग्यो । म्याग्दीको लागि खेलको तेस्रो मिनेटमा अनुपम श्रेष्ठले गोल गरेका थिए ।
श्रीमेहरका शंकर कार्कीले ३९ औं मिनेटमा बराबरी गोल गरेका थिए । इन्ज्युरी समयको चौथो मिनेटमा रामशरण चौधारीले गोल गर्दै श्री मेहरलाई जित दिलाएका थिए ।
बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा बुधबार क्वाटरफाइनलका बाँकी दुई खेल हुनेछ । पहिलो खेल रुद्रेपिपल युवा क्लब र बुद्धचित्त तथा दोस्रो खेल आदर्श स्पोर्टस् क्लब र धवलागिरी बहुमुखी क्याम्पसबीच हुने अध्यक्ष गणेश महतोले जानकारी दिए ।
The post बागलुङ सुधार र श्री मेहर सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/pafAgJ6
