Type Here to Get Search Results !

जलेश्वरमा तीन दिन माछामासु र नशालु पदार्थ बेच्न निषेध 0

 


महोत्तरी - महाशिवरात्री पर्वलाई दृष्टिगत गरेर जिल्ला प्रशासन कार्यालय (जिप्रका) महोत्तरीले चारकिल्ला तोकी जलेश्वर नगरपालिका क्षेत्रमा तीन दिनका लागि मांसमदिरा तथा नशालु पदार्थ निषेध गरेको छ । जिप्रकाले मंगलबार विज्ञप्ति प्रकाशित गरी फागुन २४ बाट २६ गतेसम्मका तीन दिन तोकिएका चारकिल्लाभित्र मांस, मदिरा र नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार र सेवन निषेध गरिएको जनाएको छ ।

शिवरात्री महापर्वका अवसरमा नगरक्षेत्रको पवित्रता तथा शुद्धता कायम राख्न सो निषेधाज्ञा जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । स्थानीय प्रशासनले मद्यमांस तथा नशालु पदार्थ तोकेको चारकिल्लामा राविम क्याम्पसदेखि पूर्व, नेपाल पत्रकार महासंघको कार्यालयदेखि पश्चिम, जिरोमाइलदेखि दक्षिण र खैराचोकदेखि उत्तरका क्षेत्र छन् । यी चारकिल्लाभित्र जलेश्वर नगरको सहरी क्षेत्र पर्दछ ।

जिप्रका महोत्तरीका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार निर्धारित स्थानलाई निश्चित अवधिका लागि मद्यमांस र नशालु पदार्थ निषेधित क्षेत्र बनाइएको हो । निषेधाज्ञाविरुद्ध जानेहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ मा कसैले कुनै काम गर्न लाग्दा वा केही वस्तु रहँदा वा कसैले राख्दा हुलदंगा भई शान्तिसुरक्षा भंग हुने वा कसैलाई बाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले कसैलाई कुनै काम गर्नबाट निषेध गर्ने र कुनै सम्पत्तिको मालिक वा व्यवस्थापक वा प्रमुखलाई सो वस्तु वा सम्पत्ति सो ठाउँबाट हटाउन आदेश दिने वा सो ठाउँमा कुनै काम गर्न निषेध गर्ने उल्लेख छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today