आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा काभ्रेका १३ स्थानीय तहहरूमध्ये रोशी गाउँपालिका उत्कृष्ट भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार ४८.३९ अंक प्राप्त गरी रोशी काभ्रेकै उत्कृष्ट पालिका बनेको हो।
कार्यसम्पादन मूल्यांकनअनुसार रोशी गाउँपालिका देशभरीका ७५३ स्थानीय तहमध्ये १३औँ स्थानमा र देशभरका गाउँपालिकामध्ये ७औँ स्थानमा पर्न सफल भएको छ।आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको थियो। जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकमअनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकलाई आधार मानिएको छ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे÷नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भ जाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपातलगायतका सूचकहरु रहेका छन्।स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ।
काभ्रेका कुन पालिकाको कति अंक ?
आयोगको मूल्यांकनअनुसार जिल्लामा पाँचखाल नगरपालिका दोस्रो स्थानमा परेको छ। पाँचखाल नगरपालिकाले ४१.७३ अंक प्राप्त गरेको छ। तेस्रो नम्बरमा परेको चौरीदेउराली गाउँपालिकाले ३९.५८ अंक प्राप्त गरेको छ। ३७.५३ अंकका साथ धुलिखेल नगरपालिका चौंथो नम्बरमा परेको छ भने १८.८२ अंकका साथ पनौती नगरपालिका अन्तिम स्थानमा छ।
यसैगरी, बनेपा नगरपालिकाले ३७.५, महाभारत गाउँपालिकाले ३४.२२, तेमाल गाउँपालिकाले २८.२४, नमोबुद्ध नगरपालिकाले २८, खानीखोला गाउँपालिकाले २६.३४, बेथानचोक गाउँपालिकाले २५.४४, मण्डनदेउपुर नगरपालिकाले २२.२८ र भूम्लु गाउँपालिकाले १९.५० अंक प्राप्त गरेका छन्।

