समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘आगामी निर्वाचनमा गठबन्धन नगर्ने’ महामन्त्री गगन थापाको प्रस्तावमा सहमत भएका छन् । हिजो सोमबारदेखि ललितपुुरको गोदावरीमा सुरु भएको महासमिति बैठक सोही विषयका कारण पेचिलो बनेको थियो । सोमबारको उद्घाटन सत्रमा सभापति देउवाले यो विषयमा अहिले चर्चा नहुने भन्दै चुनावका बेला परिस्थिति हेरेर निर्णय गर्ने बताएका थिए । तर, गगनले प्रस्तावको मूल मर्म नै त्यही भएकाले संशोधन गर्न नसक्ने अडान लिएका थिए ।
महान्त्री थापा आफ्नो अडानमा टसको मस नभएपछि सभापति देउवाले सोमबार साँझ आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक डाके । बैठकबाट आफूअनुकूल निष्कर्ष निस्किने छाँटकाँट नदेखिएपछि देउवा बैठक बीचैमा रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँग आधा घण्टा छलफल गरेका थिए । छलफलका क्रममा उनले गठबन्धनका विषयमा कांग्रेसले दायाँबायाँ नगर्ने भन्दै प्रधानमन्त्रीलाई आश्वस्त पारेका थिए ।
बालुवाटारबाट फर्किएर पुनः पदाधिकारी बैठकमा सामेल भएका देउवा अन्ततः महामन्त्री थापाको प्रस्तावमा सहमत भए । राजनीतिक हिसाबले अप्ठ्यारो हुने भन्दै गठबन्धनका विषयमा अहिले नै निर्णय गर्न नहुने अडान लिए पनि थापाको प्रस्तावमा छलफल गराउन देउवा सहमत भएका हुन् । केही वर्तमान पदाधिकारी र केही पूर्वपदाधिकारीले महामन्त्री थापाको प्रस्तावमा समर्थन गरेपछि सभापति देउवाले ‘ल ठीक छ, प्रस्तावको कुरा मानेँ, छपाइ गर्न पठाए हुन्छ’ भनेका हुन् ।कोशी प्रदेशको मुख्यमन्त्री चयनका बेला र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट धोका भएको भन्दै माओवादी कांग्रेससँग रुष्ट भएको छ । सो पार्टीका केही नेताले कांग्रेससँगको सहकार्य तोड्ने चेतावनी दिँदै आएका छन् ।
माओवादीको चेतावनी र पार्टीभित्रको इतर पक्षको दबाबका कारण सभापति देउवा चेपुवामा परेका हुन् । गठबन्धनमा असर पर्ने सम्भावना देखाउँदै देउवा महासमितिको बैठकमा सो विषय उठान हुन नदिने प्रयासमा थिए । तर, पदाधिकारी बैठकले महामन्त्री थापाको प्रस्तावलाई समर्थन गरेपछि देउवा महासमितिको बैठकबाट सो प्रस्तावलाई अस्वीकृत गराउने रणनीतिमा पुगेका हुन् ।
The post ‘निर्वाचनमा गठबन्धन नगर्ने’ गगनको प्रस्तावमा छलफल गराउन देउवा सहमत appeared first on Samudrapari.com.
from Samudrapari.com https://ift.tt/eEqI9lU
