Type Here to Get Search Results !

कांग्रेसमा एक्लै चुनाव लड्ने संकल्पमा सहमति, चुनावमा गठबन्धन नगर्ने प्रस्तावमा देउवा सहमत

 


’०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौँ, र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौँ’ कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको यो साङ्गठनिक प्रस्तावमा असहमति जनाएका थिए ।

तर, लामो समयपछि अन्ततः स्विकार्न तयार भए । ’कार्यकर्ता उत्साहित बनाउन नसक्ने, भोलिको चुनाव कांग्रेस एक्लै लड्छ भन्न नसक्ने ?’ भन्दै केही नेताहरूले सभापति देउवालाई प्रश्न सोधेपछि देउवा गले ।

महासमिति उद्घाटन सकिँदासम्म पनि साङ्गठनिक प्रस्तावमा सहमति हुन सकेको थिएन । अहिले नै गठबन्धनबारे प्रस्तावमा केही लेख्न नहुने अडान दुई दिनदेखि देउवाले राखेका थिए । अन्ततः देउवा अडानबाट पछि हटेका हुन् ।

सोमबार अपराह्नदेखि निवास बुढानीलकण्ठमा करिब ५ घण्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो ।

अहिलेका केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूले बुढानीलकण्ठ बैठकमा महामन्त्री थापाको प्रस्तावको समर्थन गरेका थिए । यसले देउवालाई समझदारीमा आउन दबाब पुगेको थियो ।

महामन्त्री थापाको प्रस्तावमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, भिस्मराज आङ्दम्बे, बद्री पाण्डे, गोपालमानश्रेष्ठ लगायतले बुढानीलकण्ठ बैठकमा समर्थन गरेका थिए ।

बुढानीलकण्ठ बैठकमा शेखर कोइरालालाई बोलाइए पनि उनी उपस्थित भएका थिएनन् । कांग्रेस महासमिति बैठक सोमबार उद्घाटन गरिएको थियो । मंगलबार बिहान ९ बजेदेखि पुनः बैठक सुरु हुनेछ ।

सहमति सँगै कांग्रेसले महासमिति बैठकमा भविष्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने भएको छ । यो सहमतिसँगै महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनले अन्तिम रूप पाएको छ ।

मंगलबार बिहान ९ बजे सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाश शरण महतको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today