Type Here to Get Search Results !

सिरहा कारागारमै कैदीमाथि मरनासन्न कुटपिट


 

सिरहा कारागारमा २० जना कैदीबन्दीलाई मरनासन्न हुने गरी कुटपिट गरिएको छ । जेल सजाय काटिरहेका सुनिलकुमार यादवसहित २० जनाबढी माथि गत बुधबार कुटपिट भएको छ ।

कुटपिट गरिएका मध्ये सुनिल गम्भीर छन् । उनलाई २५ वटा टाँका लागेको छ । हाल उनको विराटनगरमा उपचार भइरहेको छ । अन्य २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार अन्य घाइतेलाई भने घटनाको ढाकछोप गर्न कारागारले भित्रै राखिएको छ ।

हरेक वर्ष जाडोको बेला सरकारले कैदीहरूलाई सिरकका लागि ३ हजार ५ सय रुपैयाँ उपलब्ध गराउदै आएको छ भने हरेक महिना २४ सयका दरले रकम दिने गरिन्छ । सिरक पनि नपाएको र हरेक महिना पाउने रकममा पनि अनियमितता भएको आवाज उठाउँदा कुटपिट भएको घाइतेहरूले बताए ।

चौकीदार कैलाश ठाकुर, विजय महतोलगायतले कारागारभित्र सबै सरोकारवालासँग सेटिङ गरी आर्थिक अनियमितता गरेको आवाज उठाउँदा कारागार भित्र नै कुटपिट गरिएको घाइतेहरुले आरोप लगाएका छन् ।

यता, सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्वुले कारागारमा रहेका एकजना कैदीको सोही जेलमा रहेकी श्रीमतीलाई सिन्धुली जेलमा सरुवा गर्दा त्यो व्यक्तिले गु्रप बनाएर हल्ला मचाएपछि अर्को ग्रुपसंग झगडा भइ घटना भएको बताए । झगडामा बाँसको भाटा प्रयोग भएकोले एक कैदीको टाउकोमा चोट लागि १६/१७ वटा टाँका लागेको बताउदै उनले अवस्था सामान्य रहेको बताए ।

यस घटनाको विषयमा छानबिन भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । ‘कारागार भित्र कुटपिटको घटना भएको बुझिएको छ’ प्रजिअ पाण्डेले भने–‘त्यसको छानबिन सुरु भइसकेको छ ।’ कुटपिटको घटनालाई ढाकछोप गर्न स्थानीय प्रशासन र प्रहरीले कैदीबन्दीहरुमाथि चरम दबाब दिएको बताइएको छ । मुख खोले कारागार सार्ने र अन्य अभियोगसमेत लगाउने धम्की दिएको पीडितहरुका परिवारजनले जनाएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today