बिहार, भारत : मिथिलाञ्चल टुडेमा क्रियाशील पत्रकार सरताज आलम सहित मधेश प्रदेशका सात पत्रकार छिमेकी देश भारत मा सम्मानित भएका छन्।
उनीहरुलाई भारतको बिहार, मधेपुरामा भारतीय पत्रकार संघको बिहारस्तरीय संगोष्ठी तथा द रिपब्लिकन टाइम्सको छैटौं स्थापना दिवसको अवसरमा स्व. वरिष्ठ पत्रकार डा. देवासिस बोस अवार्डसहित सम्मान गरिएको हो ।
पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै भारतीय पत्रकार संघले केही भारतीय पत्रकारलगायत सात नेपाली पत्रकारलाई पुरस्कृत गरेको हो ।
पूर्वमन्त्री जाकिर हुसैन, पूर्व सांसद पप्पु यादव र भारतीय पत्रकार संघका अध्यक्ष सेराज अहमद कुरैशीको हातबाट डा. दिवासिस बोस अवार्डद्वारा पुरस्कृत हुने नेपाली पत्रकारहरूमा मिथिलाञ्चल टुडेकर्मी तथा बिभिन्न मीडिया मा आबद्ध क्रियाशील पत्रकार सरताज आलम, मध्यान्ह दैनिकका इस्तियाक अहमद र सत्येन्द्रप्रताप सिंहका साथै स्नेहसिला मिडिया सिरहाकी प्रेमशिला यादव, न्युज डेलीका सञ्चालक रघुनाथ गुप्ता, मधेश भूमिका रौतहट संवादाता रुपेश यादव र आरोही टिभीकी संवाददाता अनुष्का शर्मा रहेका छन् ।
बिहारको मधेपुरा शहरको कला भवनमा भारतीय पत्रकार संघ मधेपुरा जिल्ला अध्यक्ष मो. रजीउर रहमानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा स्व. वरिष्ठ पत्रकार डा. देवासिस बोसको जीवन चरित्र र योगदानहरुको बारेमा चर्चा समेत भएको थियो ।

