जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत बिहिबार धनुषयज्ञ विधि सम्पन्न भएको छ ।
त्रेता यूगमा तत्कालिन मिथिलाका राजा शिरध्वज जनकको प्रतिज्ञा अनुसार भएको धनुष यज्ञको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिदै आएको छ ।
सप्ताहव्यापी वैवाहिक कार्यक्रम अन्तर्गत तेस्रो दिन धनुषयज्ञको आयोजना गरिएको हो ।

त्रेतायुगमा राजा जनक आफनो दरबारमा रहेको पिनाक नामक धनुषमा प्रत्यञ्चा चढाउने विर राजकुमारसंग मात्र आफनी छोरीको विवाह गर्ने उद्घोष गरेका थिए । छोरी सीताका लागि एक विर योद्वा राजकुमार चयन गर्न राजर्षि राजा जनकले आयोजना गरेको धनुषयज्ञमा सहभागी भएका अयोध्याका राजकुमार श्रीराम प्रत्यञ्चा चढाउन सफल भएको र सो धनुष तीन टुकड़ा भएको जनविश्वास छ । धनुषको तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ ।

यसै घटनालाई प्रतिकात्मक रूपमा कुनै वर्ष जनकपुरधामको बाह्रबिघ्घा रंगभूमि मैदान र कुनै वर्ष जानकी मन्दिर प्राङ्गणमा देखाउने गरिन्छ । यस वर्ष जानकी मन्दिर प्राङ्गण मै आयोजित धनुषयज्ञमा भगवान रामको प्रतिकात्मक रुप धारण गरेका श्रीराम प्रत्यञ्चा चढाएका छन् । धनुषयज्ञ दर्शनावलोकन गर्न अत्याधिक संख्यामा साधुसन्त, सर्वसाधारण तथा नगरबासी सहभागी भएका थिए।

धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम, लक्ष्मण, भरत तथा शत्रुध्न सहित सहभागि भएर भगवान रामले भगवान शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउदा तीन टुकडा भएको थियो ।त्यस पश्चात मात्रै माता सीताको विवाह भगवान रामसंग भएको वाल्मिकी रामायणमा उल्लेख छ ।

साताव्यापी विवाहपञ्चमीको पहिलो दिन मंगलबार नगरदर्शन र दोश्रो दिन बुधबार फुलबारी लिला र आज बिहीबार तेश्रो धनुष यज्ञ सम्पन्न भइसकेको छ । भोली चौथो दिन मंसिर २९ गते तिल्कोत्सव, मंसिर ३० गते मटकोर रहेको छ भने पुस १ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको छ । पुस २ गते रामकलेवा गरी सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरधाममा भव्य रुपमा सप्ताहव्यापी महोत्सवको आयोजना गरेर विवाहपञ्चमी महोत्सव मनाउने चलन रहेको छ ।








