Type Here to Get Search Results !

‘दलितले छोएको औषधि खाँदैनौँ भन्दै गाउँ निकाला गरेको खबर मित्थ्या’

 


सोमबार दिन भरजसो सामाजिक सञ्जालमा एउटा समाचार र तस्बिर भाइरल बन्यो। उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिकास्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्साकुमारी विश्वकर्माको थियो।

तस्बिरकाे क्याप्सनमा लेखिएको थियो ‘दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे।’ जातीय छुवाछुतसम्बन्धी यो तस्बिरबारे बुझ्न विश्वकर्मालाई सम्पर्क गर्दा उनले आफूलाई गाउँलेहरूले निकाला नगरेको बताइन्।

‘गाउँलेहरूले मैले छोएको औषधि नखाने र गाउँ निकाला गरे भन्ने कुराचाहिँ गलत हो,’ विश्वकर्माले भनिन्, ‘तर, केही मान्छेले भने दलितले छोएको औषधि नखाने भनेका हुन्। यो कुरा एक–दुई महिना पहिलेकै हो।’उनले थपिन्, ‘मुगुमा आएपछि स्वास्थ्य चौकीनजिकै कोठा सर्ने क्रममा परिवारसँग मात्रै सो कुरा गरेकी थिएँ। मैले कहीँ–कतै मिडियामा यस्तो कुरा गरेकी थिइनँ। अहिले आएर कसले कसरी भाइरल गर्‍याे थाहा भएन। मेरो घर दाङको तुल्सीपुर हो। म मुगु आएको एक वर्ष भयो।’ 

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले उक्त घटनाबारे जानकारी पाउनेबित्तिकै आफू सोरु गाउँपालिका– ९ खनायाँगाउँ  पुगेको र मंगलबार बिहान १० बजे जिल्लाका पत्रकार, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, राजनीतिक दल तथा पीडित महिलासहित जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको बताए।

उनका अनुसार छलफलमा पीडित भनिएकी विश्वकर्माले आफूलाई  त्यस्तो कुनै दबाब नभएको, बरु साँझ केटाहरूले जिस्क्याउने गरेको बताइन्।

उनले यति दिन बस्दा केही नभनेका घरबेटीले अहिले आएर कोठा छोड्न दबाब दिएपछि आफू दलित भएकै कारण यो दबाब बढेको हाे कि भन्ने लागेकाे सुनाइन्।

तुल्साका घरबेटी स्वास्थ्य चौकी खनायाँका इन्चार्ज सुरज शाही हुन्। उनले दलित भएकी कारण उनलाई काेठा छाेड्न दबाब नदिएकाे दाबी गरे। उनले भने, ‘तुल्सा आफ्नै स्टाफ हुन्। उनलाई आफैँले आफ्नो घरको कोठा भाडामा दिएको हुँ। उनी कुन जातिको हो मलाई थाहा नहुने हुन्छ र ?’ 

उनले आफ्नो परिवार ठूलो भएकाले कोठा अपुग हुँदा तुल्सालाई कोठा खाली गर्न भनेको बताए। उनी  यसरी झुटो हल्ला फैलिँदा आफू छक्क परेको बताउँछन्। 

गाउँमा कोठा भाडामा नपाइएपछि अहिले तुल्सा सदरमुकाम गमगढीमा बस्दै आएकी छिन्। गमगढीबाट स्वास्थ्य चौकी खनायाँ पुग्न गाडीमा चार घन्टा लाग्छ। अझ भनेको वेला गाडी पाउन मुस्किल पर्छ। 

उपाध्यक्ष शाहीले तुल्सालाई गाउँमै बस्ने व्यवस्था मिलाउने बताए। पत्रकार सम्मेलनपछि प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी र डिएसपी वीरेन्द्र थापाले निवेदन आए कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today