मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ परेका हुन्। यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान छ र यसबारे अनुसन्धान गरिरहेको जनाएको छ।
स्रोतका अनुसार गोरखबहादुर मृतकका नातेदार पर्छन्।
कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो।
कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।सामूहिक हत्या भएको लामो समयसम्म पनि आरोपित पक्राउ नगर्दा प्रहरीको आलोचना भइरहेको थियो। सामूहिक हत्या भएको घटना अनुसन्धानका लागि सुरूमा कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट दुई वटा टोली अनुसन्धानका लागि खटिएको थियो।
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो।
अनुसन्धानकै लागि कर्णाली प्रहरी प्रमुख डिआइजी भीम ढकाल समेत मुगु पुगेका थिए। जाजरकोटमा भूकम्प गएपछि उनी फर्किएका थिए। त्यहाँ जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापा नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको थियो। पछि प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि डिएसपी धर्माराज भण्डारी नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो।

