Type Here to Get Search Results !

गाउँसभा हुन नसक्दा विकास अवरुद्ध : चन्द्रनगर गाउँपालिका अध्यक्ष महतो

 


सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पाँच महिनादेखि गाउँसभा हुन नसक्दा विकास अवरुद्ध भएको बताउनुभएको छ ।

विधानतः असार १० गते नै गाउँसभामा नीति, बजेट, तथा कार्यक्रम पेश गरी २५ गते सम्ममा पारित गरिसक्नुपर्ने भएपनि गापा उपाध्यक्ष गितादेवी महतोसहित केही वडाअध्यक्षहरुको असहयोगको कारण गाउँसभा नै हुन नसकेको मंगलवार पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।
अध्यक्ष महतोले भन्नुभयो, ‘पाँच महिनादेखि गाउँसभा हुन सकेको छैन । शिक्षक, कर्मचारीको तलब मात्रै हैन जेष्ठ नागरीक, अपाङ्गता भएका व्यक्तिहरु, बालबालिकाहरुले पाउने सामाजिक सुरक्षा भत्ता पनि रोकिएको छ । सामाजिक सुरक्षाभत्ता रोकिँदा दशैं, तिहार तथा छठ समेत निरस बनेको छ ।’
उहाँले आफूले गाउँसभा गर्न पटक पटक प्रयास गर्दा पनि उपाध्यक्ष महतोको टिमले असहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पाँच महिनामा हामीले पटक पटक गाउँसभा गर्ने प्रयास ग¥यौं । उहाँहरुलाई आफ्ना मागहरु स्पष्ट रुपमा राख्न र गाउँसभा सम्पन्न गर्नमा सहयोग गर्न पटक पटक आग्रह ग¥यौं, तर पनि मान्नु नै भएको छैन ।
उहाँले बहुमतको दम्भ देखाएर उपाध्यक्ष जी ले विकास निर्माणको काममा अवरोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘उहाँ आफै पनि एउटा जिम्मेवार पदमा हुनुहन्छ, जनतालाई उहाँले पनि जवाफ दिनुपर्छ । तर उहाँहरु आफ्ना माग पनि स्पष्ट राख्नुहुन्न अनि गाउँसभा पनि गर्न सहयोग गर्न हुन्न, यसरी त गाउँपालिका चल्दैन नि ।’
उहाँले गाउँसभा सम्पन्न गर्नका लागि उपाध्यक्षको टिमलाई मनाउन आफूले विभिन्न चरणमा छलफल राखेपनि उहाँहरु छलफलमै सहभागि नहुने गरेको, भएपनि स्पष्ट माग नै नराखी गाउँसभा नै हुन नदिने भन्ने गरेको बताउनुभयो । उहाँले उपाध्यक्षजीको टिमसँगभन्दा बाहेक पनि स्थानीय राजनीतिक दल, केन्द्रीय पार्टीपंक्ति र केन्द्रीय सरकार सम्म पनि आफूले गाउँसभाका विषयमा कुरा राखेपनि त्यो सफल हुन नसकेको बताउनुभयो ।
भागबण्डा नमिलेर उहाँहरुले गाउँसभा गर्न नचाहेको भन्ने सुनिन्छ नि भन्ने जिज्ञासामा गाउँपालिका अध्यक्ष महतोले बजेट निर्माणका नीति, निर्देशिकाको परिधीभित्र रहेर नीति, बजेट तथा कार्यक्रम बनाईने भएकोले भागवण्डाको प्रश्न नै नहुने बताउनुभयो । उहाँले आफूलाई असफल बनाउन उपाध्यक्ष जी को टिम लागेको दाबी गर्नुहुँदै भन्नुभयो,‘उहाँहरु फ्रण्टमा देखिनुभएको हो । पर्दापछाडि त अरु नै खेलाडीहरु छन्, जसले मलाई असफल बनाउन चाहान्छन् ।’
उहाँले आफूले सामाजिक सुधार लगायतका थुप्रै राम्रा कामहरु गरेकाले पूर्व गापा अध्यक्ष लगायतका केही व्यक्तिहरु आफूविरुद्ध लागेको समेत आरोप लगाए । उहाँले ५ महिनादेखि गाउँसभा हुन नसक्नुमा आफू दोषी नभएपनि दोषजति सबै अध्यक्षलाई नै देखाउने भएकोले आफूले पत्रकार सम्मेलन गरेर गाउँसभा हुन नसक्नुको कारण सार्वजनिक गरेको बताउनुभयो ।
उहाँले आफू सधैं जनताकै पक्षमा रहेकोले फेरी पनि आपसी समझदारी गरी अवरोध फुकाई गाउँसभा गर्न तयार रहेको बताउनुहुँदै गापा उपाध्यक्ष महतोसहितको टिमलाई सम्वाद र सहमतिमा आउन आग्रह गर्नुभयो ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today