Type Here to Get Search Results !

घोडा दौडकी एक्ली श्रृष्टी

 


हिमशिखर माध्यमिक विद्यालय तातोपानीमा ८ कक्षामा अध्ययनरत श्रृष्टीले घोडा चढ्न थालेको एक वर्ष मात्रै भएको छ

जुम्ला — जुम्ला तातोपानी ३ लिताकोटकी १४ वर्षीया श्रृष्टी कार्की पहिलो पटक घोडादौडमा सहभागी हुँदा प्रतिस्पर्धी र दर्शक छक्क परे । छक्क पर्नुको कारण थियो, घोडा दौडमा महिलाको सहभागिता । हालसम्म भएका घोडा दौडमा महिलाको सहभागिता हुँदै हुँदैन थियो । 

श्रृष्टी नै पहिलो हुन् जो घोडा दौड प्रतिस्पर्धामा सहभागी भइन् । महिलाले घोडा चढ्न हुन्न भन्ने मान्यता राख्ने गाउँमा उनी घोडा मात्रै चढिनन् पुरुषहरूसँग घोडा दौडको प्रतिस्पर्धामा उत्रिइन् ।

महिलाले घोडा चढ्ने कुरामात्रै गर्दा पनि चौतर्फी कुरा काट्ने गर्थे । ती सामाजिक चुनौतीको सामना गर्दै उनी दसैंमा आयोजित घोडा दौडमा सहभागी भएकी हुन् । उनको घोडा कदम र चालमा उत्कृष्ट बन्यो । अघिल्ला वर्षमा कम उमेरका प्रतिस्पर्धी चर्चामा हुने गरेकोमा यो पटक सबैको चर्चाको केन्द्रमा श्रृष्टी परेकी छन् ।

हिमशिखर माध्यमिक विद्यालय तातोपानीमा ८ कक्षामा अध्ययनरत श्रृष्टीले घोडा चढ्न थालेको एक वर्ष मात्रै भएको छ । पहिलो पटक घोडा चढ्दा निकै डर लागेको उनले बताइएकी छन् । डरलाई जित्दै घोडा चढ्न सिकेकी उनी घोडा दौडमा समेत सामेल भएकी छन् ।

ठूलो जीउ, बेलगाम दौडाइ र चर्को खिल्खिलाईका कारण नजिक जान डर लाग्ने जनावर घोडालाई सानो जिउ भएकी श्रृष्टीले सहजै नियन्त्रणमा लिइन् । उनको घोडा दौडाइमा सर्वत्र चासो थियो ।

सडक नपुगेको ठाउँमा यात्रालाई सरल र आरामदायी बनाउने घोडाको व्यापार पछिल्लो समय घट्दो छ । तरपनि सडक सुविधा नभएका ठाउँमा घोडा महत्त्वपूर्ण यातायातको साधन मानिन्छ ।

रहर लागेर घोडा चढ्ने गरेको अनुभव सुनाउँदै श्रृष्टीले भनिन्, ‘एक वर्ष भयो । गाउँमा घोडा चढ्न सुरु गरेको ।’ उनको घरमा बुबा, आमा, दाइ र उनी छन् । बर्खायाममा घोडाघोडी पाटनको चरन क्षेत्रमा छोडिन्छ । हिउँद लाग्ने बेला घर ल्याइन्छ । घोडा पाटन छोड्ने र घर ल्याउने काम उनका दाइले गर्छन् । घोडा घरमा भएको बेला बाजेसँगै चढेर गाउँ डुल्छिन् । त्यसरी घोडासँग उनी नजिकिएकी हुन् ।

प्रतिस्पर्धामा श्रृष्टीको घोडा दर्ता गर्न समितिले मानेको थिएन । १४ वर्षकी सानी मान्छेलाई प्रतिस्पर्धामा सहभागी गराउनु हुँदैन भन्ने समितिको जिकिर थियो । तर उनले मानिन्, घोडाको चाल र कदममा भाग लिएरै छाडिन् ।

घोडा दौडाउने क्रममा एकपल्ट लडिन् तर उनले हिम्मत हारिनन् । पुनः चढेर घोडा नियन्त्रण लिइन् । सानो भर्खरमात्रै चड्न सुरु गरेको घोडा हुँदा उनले सोचे जसरी दौडाउन पाइनन् । ‘यसपटक श्रृष्टीले प्रतियोगितामा सहभागीता जनाउँदा अत्यन्तै खुसी लागेको छ,’ कर्णाली कला केन्द्र तथा सांस्कृतिक मञ्चका अध्यक्ष आनन्द अधिकारीले भने, ‘श्रृष्टीको सहभागिताले आगामी दिनमा अरु दिदी–बहिनीहरूलाई पनि घोडा दौडमा सहभागी हुन हौसला मिलेको छ ।’

जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यका अनुसार पहिला जिल्ला पञ्चायत र पछि जिल्ला प्रशासनले नै घोडा दौडको आयोजना गर्ने गरेको थियो । ‘जिल्लाका सबै सरकारी कार्यालयका घोडा थिए । हाकिम र बडाहाकिमहरू त्यसैमा सवार हुन्थे,’ उनले भने, ‘अहिले लोप हुने स्थितिमा पुगेपछि घोडा दौड गरेर जुम्ली घोडाको संरक्षण थालिएको हो ।’

विगतमा सरकारी तवरबाट घोडा दौड प्रतियोगिता हुन्थ्यो । यसको स्वार्थ भनेको सरकारी कामकाजमा यातायातको साधनको रुपमा उत्कृष्ट घोडा प्राप्त गर्ने थियो । अहिले भने घोडा संरक्षणका लागि प्रतियोगिता आयोजना हुन लागेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today