सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको डीएसपी नारायण डाँगीले जानकारी दिए ।सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै रिगल मोबाइल स्वीच अफ गरेर भाग्ने तयारीमा रहेको प्रहरी स्रोतले बतायो । तर, उनको निगरानी गरिरहेको प्रहरीले आदेशलगत्तै नेपालगन्जबाटै पक्राउ गरी पुनः कारागार चलानको तयारी गरेको छ ।
रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।

