मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर-६ मन्दु गाउँमा एकै घरका ४ जनाको हत्या घट्नामा कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल मुगु पुगेका छन् । आइतबार बिहान ढकाल मुगु पुगेका हुन् ।डीआईजी ढकाल घट्नाको अनुसन्धानमा खटिएका प्रहरीलाई विशेष निर्देशन दिन र पीडित परिवारलाई भेट्न मुगु पुगेका हुन् । मुगुमा पुगेर डीआईजी ढकालले अनुसन्धान अधिकृतसँग भेटघाट गरेका छन् । उनले अनुसन्धान अधिकृतको विज्ञता अनुसार काममा खटाइएको बताए । साथै, उनले मृतकका परिवारलाई भेटेर छिट्टै दोषीलाई नियन्त्रणमा लिने प्रतिवद्वता समेत जनाए ।
शुक्रबार २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव उनीहरूकै घरमा भेटिएको थियो । उनीहरू सबैको धारीलो हतियार प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गम्भिर प्रकृतिको घटना घटेकोले डीआईजी ढकाल आफैं घटनास्थलमा पुगेका हुन् ।
शुक्रबार बिहान १० बजे घटनाको खबर पाउनासाथ घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट वरिष्ठ प्रहरी नायव निरीक्षक नारायणप्रसाद शर्माको नेतृत्वमा विशेष अनुसन्धान टोली पनि खटिसकेको छ । जुम्लाबाट पनि अनुसन्धानको लागि विशेष टोली घटनास्थलमा पुगेको छ ।यस्तै, नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट प्रहरी निरीक्षकको कमाण्डमा पनि अनुसन्धानको लागि टोली खटिएको कर्णाली प्रदेश प्रहरी प्रमुख ढकालले बताए । उनका अनुसार नेपालगन्जबाट कुकुर शाखाको टोली पनि पुगेर अनुसन्धानमा सहयोग गरिरहेको छ ।
मृतकका शवहरू घटनास्थलबाट पोस्टमार्टमका लागि मुगु अस्पताल लगिएको छ । उनीहरूको शव परीक्षण पछि घटनाबारे थप विवरण प्राप्त हुने प्रहरीले जनाएको छ । मृतक आमा छोराछोरीसहित ७ गते बिहान दसैंको टीका थाप्न सोही वडामा रहेको माईती गाउँ कोटिल्ला गएकी थिइन् । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनापछि श्रीदेवीका श्रीमान् दीपक बोहोरा कतारबाट घर आएका छन् । उनी वैदेशिक रोजगारीका लागि गत वर्ष मंसिरमा कतार गएका थिए। त्यसअघि पनि कतारमै रहेको दीपक गत वर्ष बिदामा घर आएर फर्किएका हुन् ।

